काठमाडौं, असार ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जिल्ला इन्चार्ज र सहइन्चार्ज तय गर्ने विषय तथा जिम्मेवारी बाँडफाँटमा तीन नेताबीच तीनथरी कुरा भएपछि एकता प्रक्रिया अलमलमै छ ।
प्रधानमन्त्री युरोप भ्रमणमा जानुअघि टुंग्याउने भनेको विषय प्रधानमन्त्री फर्किएपछि सुल्झनुको साटो थप पेचिलो बनेको छ ।
एकताका बाँकी प्रक्रिया टुंग्याएरमात्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली युरोप यात्रामा जाने भनिएको थियो ।
जेठको तेस्रो साताका लागि तोकिएको यो समयसीमाअनुसार नै केही दिन घनिभूत छलफल पनि चल्यो । तर, इन्चार्ज सहइन्चार्ज तोक्ने र जिम्मेवारी बाँडफाँट गर्ने विषयमा कुनै सहमति हुन सकेन ।
यसपछि लगातार अनिर्णित बनेको बैठकले ओली युरोप यात्राबाट आउनेवित्तिकै विषय टुंग्याउने सहमति गर्यो ।
तर, प्रधानमन्त्री फर्किएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट हुनै चार दिन लाग्यो । भेट हुनै समय लागेपछि फर्कनेवित्तिकै विषय टुंग्याउने भन्ने कुरा त परै रह्यो ।
नेकपा उच्चस्रोतकाअनुसार अहिलेको चुरो विवाद भनेको दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा छ ।
अध्यक्ष ओलीपक्ष कुनैपनि हालतमा दाहोरो जिम्मेवारी दिनुपर्ने पक्षमा छ । तर, नेपालपक्ष भने दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा छ । दुईपक्षको यो विवादमा अध्यक्ष दाहाल भने चुप लागेर बसेका छन् ।
संयुक्त बैठकमा खासै प्रतिक्रिया नजनाउने दाहालले एक्ला–एक्लै भेट्दा भने ‘तपाइँहरुले भनेको कुरा ठीकै हो’ भन्ने गरेको स्रोत बताउँछ ।
दाहालपक्षले पद बाँडफाँटमा स्पस्ट कुरा नगरेपनि राजनीतिक विचारमा भने अडान लिँदै आएको छ ।
ओलीनिकटका नेताहरुले बेला–बेलामा ‘जबज’को कुरा उठाइदिँदा दाहालले ‘जनताको जनवाद’ मूल लक्ष्य बनाएर पार्टी एकीरण भएको प्रतिक्रिया दिइरहेका छन् ।
दाहालको ध्यान भने अहिले महाधिवेशनतर्फ छ । उनले हरेकजसो मञ्चहरुमा महाधिवेशनको विषय उठान गरिरहेका छन् । बिहीबारमात्र पनि पोखेरा पुगेर उनले यही कुरा दोहोर्याए ।
यसैबीच, शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको छ ।
पार्टीभित्र अर्को विवादको जड भनेको संगठन विभाग कसले पाउने भन्ने पनि हो ।
सचिवालयमै रहेका वामदेव गौतम, ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल संगठन विभाग नेतृत्वको दाबेदारीमा छन् ।









प्रतिक्रिया दिनुहोस्