
बुटवल/पर्सा/पोखरा । बुटवल,पर्सा र पोखरामा गरी चार कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय शिव पुजन कोहारको हिजो राती उपचारका क्रममै मृत्यु भएको फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
६ गतेदेखि स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उनको राती मृत्यु भएको हो । ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताबाट पीडित थिए ।
यता, पर्सामा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाका अनुसार पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको हिजो साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो ।
चौरसियाका अनुसार मृत्यु भएका व्यक्ति ८ भदौमा अस्पताल भर्ना भएका थिए । यस्तै कोरोना संक्रमित एक गर्भवती महिलाको आज मृत्यु भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
मृतक दुवै जना ८ गते उपचाका लागि अस्पताल भर्ना भएका थिए । महिलामा श्वासप्रश्वासमा समेत समस्या देखिएपछि स्वाब संकलन गरी आइसोलेशनमा राखी उपचार हुँदै आएको थियो ।
हिजो आएको रिपोर्टमा उनी संक्रमित रहेको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थप सतर्कताका साथ उपचार भइरहँदा ती महिलाको आज निधन भएको अस्पतालले जनाएको हो ।
त्यसैगरी कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ ।
गत आइतबार कोरोना पुष्टि भएकी पोखरा महानगरपालिकाकी ३२ वर्षीया महिलाको आज बिहान निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्