१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘क्रुज’मा काम लगाइदिने भन्दै ६ करोड ठगेको आरोपमा पक्राउ


0
Shares

काठमाडौं, असार ४ । महानगरीय अपराध महाशाखाले सिंगापुरको ‘क्रुज’मा काम लगाइदिने भन्दै रु ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु ६ करोड ठगी गरेको आरोपमा नुवाकोट, गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मंगलबार मकवानपुरबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याइ सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौंको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।

‘पौडेलले सिंगारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ’–उनले भने ।

पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको रु ६ करोड ठगी गरेको महाशाखाको दाबी छ । रासस