Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भेडेटार–राजारानी–रवि–राँके सडक कालोपत्रे गर्ने काम धमाधम


0
Shares

धनकुटा, असार १ । धनकुटा, इलाम र पाँचथर जोड्ने पर्यटकीय महत्वको भेडेटार–राजारानी–रवि–राँके सडकको कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भेडेटार–रवि–राँके सडक कालोपत्रेका लागि शिलान्यास गरेका थिए ।

सडकले धनकुटासहित पाँचथर, इलामका विभिन्न ठाउँहरु जोड्ने छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा ७ मिटर चौडाइसहित एक सय तीन किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।

३६ महिनाभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालिसँग ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकी डलरमा कालोपत्रेका लागि सम्झौता भएको हो ।

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा अघि बढेको यो काम  धनकुटाको राजारानी र पाँचथरको रविबाट सुरु गरिएको छ । यो मार्गले धनकुटाका भेडेटार, नाम्जे, डाँडाबजार, राजारानी, ६ नम्बर बुधबारे हुँदै पाँचथरको कम्फुटार, लेकगाँउ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुविर्सेसहित इलामको फुयतप्पा, चमैता, एकतप्पा छुनेछ । राँके–भेडेटार बाटोलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक रहेका छन् ।