९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


जिल्ला वन कार्यालय कपिलबस्तुद्वारा उत्कृष्ट वन समूह तथा पत्रकार सम्मानित


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, असार ३१ । पहिलोपटक वैज्ञानिक वन ब्यवस्थापन लागू भएको कपिलबस्तुमा जिल्ला वन कार्यालय कपिलबस्तुले जिल्लाका उत्कृष्ट वन समूहलाई सम्मानित गरेको छ ।

आइतबार जिल्ला वन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला वन कार्यालयले जिल्लाका विभिन्न साझेदारी वन, सामुदायिक वन, निजी वनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सामुदायिक वनहरुमा पहिलो देउराली सामुदायिक वन बुद्धभुमि–३ भएको छ । दोस्रो जोडमहुवा सामुदायिक वन उपभोक्ता समिति र तेस्रो भृकुटी सामुदायिक वन, महेन्द्रकोट भएको छ ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १६ हजार, १४ हजार, १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो । सामुदायिक वनहरुलाई अग्नि नियन्त्रण कार्यमा प्रभावकारी भुमिका निर्वाह गरेबापत् सम्मान गरिएको वन कार्यालयका वन अधिकृत कृष्णदत्त भट्टले जनाए ।

यस्तै साझेदारी वनहरुमा बिरपुर जनकल्याण साझेदारी वन पहिलो भएको छ । दोस्रो बैजलपुर साझेदारी वन र तेस्रो एकीकृत सुरही साझेदारी बन भएको छ । पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १० हजार, ६ हजार, र ४ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी जिल्लाका विभिन्न ठाउँका निजी वन धनीहरुलाई पनि प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको छ । निजी वनतर्फ अखलेश्वर प्रसाद श्रीवास्तव प्रथम, नारायण प्रसाद बन्जाडे दोस्रो र पञ्चम प्रसाद अहिर तेस्रो हुन सफल भएका छन् । उनीहरुमध्ये पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ८० हजार र तेस्रो हुनेले ७० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

चुरेतर्फ उत्कृष्ट वनमा शिवमन्दिर प्रथम, कपिलमुनि दोस्रो र मधुवन तेस्रो भए । यस्तै माध्यमिक विद्यालयस्तरीय निवन्ध लेखन प्रतियोगितामा उत्कृष्टलाई समेत सम्मान गरिएको छ ।

प्रथम स्थान हासिल गर्ने नेपाल राष्ट्रिय मावि रनगाईका सन्तोष विश्वकर्मा, दोस्रो स्थान हासिल गर्ने सिद्धार्थ स्मारक माविका साधना भुसाल र तेस्रो स्थान हासिल गर्ने आस्था घिमिरेलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।

यसैगरी वन, वातावरण तथा बन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भुमिका खेलेको भन्दै पत्रकार भुपाल थापालाई पुरस्कृत गरिएको छ । थापासहित दुई दर्जन वन क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको हो ।

वन कार्यालयले सञ्चार क्षेत्रबाट रेडियो परिवर्तन कपिलबस्तुका स्टेशन म्यानेजर समेत रहेका थापालाई प्रमाण पत्र र नगद ५ हजार रुपैयाँले पुरस्कृत गरेको हो ।