१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सुत्केरीको मृत्युपछि तनाव


0
Shares

डडेल्धुरा, जेठ ३२ । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।

शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६, छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरबाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका हुन् ।

चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरिरहेका छन् ।

बिहान १० बजेदेखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा तराई–पहाड जाने यात्री मर्कामा परेका छन् ।

रक्तश्राव नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेको जनाएको छ ।

शल्यक्रियामै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यहीँ राखेको आरोप आफन्तको छ ।

अस्पतालले मृतकका आफन्तको आरोप गलत भएको जनाएको छ । गीतालाई १२ पिन्ट रगत दिएर घर पठाइसकेको अवस्थामा उनको मृत्यु भएकाले अस्पतालको लापरबाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ ।

अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् ।

आक्रोशित आफन्तले अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीकाअनुसार जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख, उपप्रमुख, नेकपा, नेपाली कांग्रेसका नेतासहित मृतकका आफन्तसँग शुक्रबार रातभरिको छलफलपछि शनिबार बिहान तीनबुँदे सहमति भएको थियो ।

घटनाको छानबिन गर्न मन्त्रालयस्तरबाट समिति खटाउने, शव परीक्षण पनि मन्त्रालयस्तरबाट नै फरक चिकित्सक बोलाइ गर्ने र नाबालकको जीवनरक्षाका लागि उचित क्षतिपूर्ति दिने सहमति भएको थियो ।

तर, बिहान १० बजे महिला र पुरुषको फरक–फरक जुलुससहित क्षतिपूर्तिको माग राखी सदरमुकाम पुगेका छन् । रासस