बाजुरामा खाद्यान्नको हाहाकार • Image Khabar Image Khabar


बाजुरामा खाद्यान्नको हाहाकार


Imagekhabar
३१ श्रावण २०७७, शनिबार १५:१८

बाजुरामा खाद्यान्नको हाहाकार

महेश कार्की (इमेज)

बाजुरा, साउन ३१ । बाजुरामा रहेको खाद्यान्न डिपोमा खाद्यान्न मौज्दात सकिएको छ ।

कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको मौज्दात दुई महिनादेखि शून्य बनेको हो ।

कोरोनाका कारण भारतलगायत विभिन्न स्थानबाट मानिसहरु जिल्ला भित्रिएसँगै जेठको दोस्रो साताबाट डिपोमा चामलको मौज्दात सकिएको हो । डिपोमा खाद्यान्न सकिएपछि बाजुरामा खाद्यान्न हाहाकार हुने देखिएको छ ।

खाद्य डिपो धनगढीले समयमै चामल नपठाएको र मनसुन सुरु भएयता सडकमार्ग अवरुद्ध भएका कारण यस क्षेत्रमा खाद्यान्नको अभाव भइरहेको छ ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड कोल्टीमा गत वर्षको आठ हजार क्विन्टल चामल ढुवानी हुनसकेन भने कवाडी डिपोमा भएको दुई हजार क्विन्टल चामल सकिएको छ ।

अहिलेसम्म सडकको समस्या देखाउँदै लिमिटेडले खाद्यान्न आपूर्ति गर्न सकेको छैन ।

बाजुरामा आफ्नो उत्पादनले तीन महिनामात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ । यस वर्ष भने कोरोनाको कारण यहाँका जनतालाई भोकमरीले सताउने देखिन्छ ।

बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको छ ।

यस वर्ष गहुँ खेतीसमेत त्यति राम्रो भएको छैन । असार–साउन सकिँदै उनीहरुसँग खाद्यान्न अभाव भइसकेको छ ।

खाद्यान्न आपूर्ति नगर्ने हो भने ठूलो संख्यामा भित्रिएको जनसंख्यालाई खाद्यान्न व्यवस्थापनका लागि समस्या हुने देखिन्छ ।

चारैतिरको बाटो पहिरोले बगाएकाले स्थलगत मार्गबाट खाद्यन्न अपूर्ति गर्न सम्भव देखिँदैन । चाडबाडअगाडि सडक खोल्न सम्भव नभएकाले यहाँका स्थानीयहरु भोकमरीको चपेटामा पर्ने पक्काजस्तै छ ।

कोरोनाका कारण विभिन्न स्थानबाट घर फर्किएका कारण सबैको घरमा भएका खाद्यान्न सकिँदा समस्या बढ्दै गएको हो ।

वर्षात्का कारण सडक बिग्रेर ढुवानी गर्न नसक्दा बूढीनन्दा नगरपालिकाको कोल्टी डिपो र र हिमाली गाउँपालिकाको कवडी डिपोमा खाद्यान्न मैज्दात सकिएको लामो समय भइसक्यो । त्यसकारण कोल्टी एअरपोटबाट हवाईमार्फत् ढुवानी गरेरमात्र समस्या समाधान हुनसक्ने देखिन्छ ।

हरेक वर्ष खाद्यान्न समस्या हुने बाजुराको यस क्षेत्रमा यस वर्ष भने कोरोनाका कारण गाउँमा आएको ठूलो जनसंख्या व्यवस्थापन र यस वर्षको उत्पादन घटेका कारण खाद्यन्न अभावले भोकमरीको अवस्था सृजना भएको छ ।

यसको व्यवस्थापनका लागि हवाई ढुवानी गरी समस्या समाधान गर्नतर्फ राज्यले जागरुकता नदेखाए बाजुरामा खाद्यान्नको हाहाकार हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्