१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सुनसरी र मोरङ डेंगीको चपेटामा


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, जेठ ३१ । सुनसरी र मोरङ डेंगीरोगको चपेटामा परेका छन् ।

गर्मी बढेपछि जतासुकै डेंगीका बिरामी भेटिन थालेपछि अस्पतालहरु भरिभराउ भएका छन् ।

करिब एक महिनाअघि देखापरेको डेंगीरोग नियन्त्रणको प्रयास भएपनि त्यो सार्थक हुन नसक्दा संन्त्रास फैलिएको छ ।

गत वैशाख ३१ गते सुनसरीको धरान उपमहानगरपालिका–१५ मा पहिलोपटक डेंगीका बिरामी फेलापरेका थिए ।

अहिले इटहरी, बराहक्षेत्रसहित मोरङका सुन्दर–हरैंचा, पथरी–शनिश्चरे हुँदै विराटनगर महानगरपालिकामासमेत डेंगी संक्रमित फेलापरेका छन् ।

प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयले सुनसरी र मोरङमा ५०० बढी डेंगीका बिरामी फेलापरिसकेको जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगीरोग नियन्त्रण हुनेभन्दा पनि फैलने अवस्थामा रहेको स्वास्थ्य महाशाखा विराटनगरका अधिकृत सुवास नेपाल बताउँछन् ।

सुनसरीको धरानमा सबैभन्दा बढी डेंगीका बिरामी देखिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या बढ्दो छ ।

प्रतिष्ठानमा एक हजारजनाको रगत परीक्षण गर्दा ४५७ जनामा संक्रमण भेटिएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर–१५ र १८ लाई डेंगी संकटग्रत घोषणा गरी ‘रेपिड रेस्पोन्स’ टिम निर्माण गरी घरदैलो गर्नेलगायतका काम भइरहेको धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु सुवेदीले जानकारी दिइन् ।

डेंगीको संक्रमण फैलिएपछि रोग परीक्षण गर्ने किटकोसमेत अभाव हुन थालेको छ ।

धरानमा संक्रमण फैलिएपछि मोरङका सुन्दर–हरैंचा, बेलबारी, पथरी र उर्लाबारी नगरपालिकाले सरसफाइ तथा लामखुट्टे मार्ने अभियान सुरु गरेका छन् ।

स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेंगी नियन्त्रणमा खटिने कार्ययोजना तयार गरी सचेतनासँगै औषधि छर्कने काम भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले जानकारी दिए ।

डेंगीको संक्रमण फैलिएपनि अहिलेसम्म कसैको मृत्यु भने भएको छैन ।

चिकित्सककाअनुसार सफा पानीमा पोथी जातको ‘एडिक्युस’ लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सर्ने गर्दछ ।

डेंगीको संक्रमणबाट बच्न आवश्यक सरसफाइमा ध्यान पुर्‍याउन आवश्यक छ ।

भिडियो हेर्नुहोस्