
गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
काठमाडौं, जेठ ३० । काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहमा आश्रय लिएका बालबालिकामाथि ज्यादती गरेको आरोपमा पक्राउ परेकी सन्चालक निर्मला घिमिरेको मुद्दा प्रहरीले अदालतमा दर्ता गराएको छ ।
प्रहरीले बालबालिकासम्बन्धी ऐनको कसुरबमोजिमको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।
ऐश्वर्य बालगृहकी सन्चालक निर्मला घिमिरेविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
गत जेठ ५ गते पक्राउ परेकी उनीमाथिको अनुसन्धान पूरा भएपछि सरकारी वकिलको रायसहित प्रहरीले अभियोगपत्र जिल्ला अदालतमा दर्ता गराएको हो ।
अभियोगपत्रसहित बिहीबार जिल्ला अदालतमा उपस्थित गराइएकी उनको बयान शुक्रबार अदालतले लिनेछ ।
त्यसपछि उनलाई थुनामा राखेर कारबाही गर्ने वा धरौटी तारखेमा राखेर कारबाही गर्ने भनेर शुक्रबार नै थुनछेकको बहस हुनेछ ।
बालगृहमा आश्रय लिइरहेका बालबालिकामाथि ज्यादती र ठगी गरेको भनी परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
मुद्दामा अनुसन्धानकाक्रममा उजुरीमा भनिएजस्तै बालबालिकामाथि शोषण, ज्यादती भएको देखिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले बालबालिकासम्बन्धी ऐनबमोजिमको कसुर भएको अनुसन्धानबाट देखिएको बताएको छ ।
अनुसन्धानकाक्रममा अभियुक्त निर्मला घिमिरेसहित, बालगृहमा आश्रय लिएका बालबालिका तथा उनीहरुका आमाबुवा र अन्य सम्बन्धितसँग पनि प्रहरीले बयान लिएको थियो ।
बयानकाक्रममा घिमिरेले शोषण नगरेको दाबी गरेपनि अनुसन्धानबाट बालबालिकामाथि शोषण भएको देखिएको छ ।
यसले बालबालिकाको संवैधानिक एवं कानुनी अधिकार हनन् भएको देखिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मीले बताए ।
प्रहरीसमक्ष दिएको बयानमा निर्मलाले बालगृहमा आश्रय लिएका बालबालिकाको पालनपोषणका लागि बेलायती संस्थाबाट रकम लिने गरेको र उक्त रकम माउन्ट एभरेस्ट स्कुलको खातामा जाने गरेको बताएकी छन् ।
उनले आश्रय लिएका बालबालिकाका अभिभावकहरुबाट पनि मनपरी ढंगमा रकम लिएको स्वीकारेकी छन् ।
शिक्षा–दिक्षाको लोभ देखाइ हुम्ला, जुम्ला, डोल्पा, रसुवा, नुवाकोटलगायतका जिल्लाबाट ल्याइएका १२२ भन्दा बढी बालबालिकामाथि ज्यादती गरेको पाइएपछि प्रहरीले ऐश्वर्य बालगृहमा छापा मारेको थियो ।
उद्धार गरिएका बालबालिकालाई अहिले बालकल्याण समिति र प्रहरीको रोहवरमा विभिन्न संघ–संस्थामा राखिएको छ ।
अहिले प्रहरी वृत्त महाराजगन्जको हिरासतमा रहेकी उनलाई शुक्रबार अदालतमा पेस गरेपछि सबैभन्दा पहिला उनको बयान लिइनेछ र त्यसपछि थुनछेकको बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्