१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अत्यावश्यक कामबाहेकका व्यक्तिलाई सिंहदरबार प्रवेशमा रोक


0
Shares

काठमाडौं, साउन २१ । कोरोना (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या नभएको तर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्ने भएकाले त्यसमा रोक लगाएको बताउनुभयो ।

जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उहाँले अनुरोध गर्नुभएको छ ।

प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उहाँले प्रष्ट पार्नुभयो ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ ।

सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभएको छ ।

उहाँले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत दिनुभएको छ ।