
प्रकाश पाक्साँवा/ ईमेज
तेह्रथुम । बाक्लो बस्ती छैन । घर भएपनी केही टाढा छन् । जंगल नजिकै गाउँ छ । सुबिधाको खोजीमा भएका घरवालाहरु पनी पातलिंदै गएका छन ।
भएका सबै जग्गा जमिन बाँझो नै छाड्न थालिएको छ । टारीखेत देखि फाँटिला टारहरु यतिबेला झोरझाडी जंगल झै बनेका छन् ।
एक्लो दोक्लो हिड्नै डर लाग्ने जंगलको रुपमा लिन थालेका छन । मलिला र ओसिलो ठाउँतिर उतिसका विरुवा हुर्किन थालेका छन । खेतीयोग्य जमिन नभएको भने पक्कै होइन ।
केहीबर्ष अघीसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफुले खाएर बचेको अन्नले परिवारको गर्जो टार्न मुस्किल थिएन तेह्रथुम छथर गाउँपालिकाका केही बस्तीका नागरिकहरुलाई ।
समयसँगै मानवबस्ती पातलिन्दै जाँदा बाँदरको हैरानी थपिएको छ । दैविक प्रकोप, प्राकृतिक प्रकोप पछी यहाँका स्थानीयहरुका लागी बन्यजन्तुको आंतक पनी एक प्रकोप बनेको छ ।
बर्षदिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछी नागरिक बसाई सर्ने विकल्प खोज्न थालेका छन् । तमोर नदीसँगै जोडिएका बस्तीहरुमा बाँदरका हुलहरुले अन्नबाली सखाप पारेको बर्षौ भयो तर समस्याको समाधानको निम्ती स्थानीय सरकारले ध्यान नदिएको छथर २ का भिमबहादुर थापाले बताए ।
मेहेनत परिश्रम गरी परिवार धान्न लगाएको बाली नै सखाप पार्न थालेपछी विकल्प नै बसाईसराई बन्न थालेको हो । जंगली जनावरको ज्यादती वर्षौ देखि यहाँका किसाानहरु त्रसित छन् ।
बन क्षेत्रहरु सँगै जोडिएको बस्तीहरु जंगली जनावरकाहरुको ज्याजतिले स्थानीयहरुलाई दिनदिनै झनै समस्या निम्त्याएको हो ।
जंगली जनवारमा पनी बिशेष गरी बांदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलु, जस्ता अन्नपातहरु नस्ट गर्न थालेपछि स्थानियवासी हैरानी हुँदै आएको शेर बहादुर कार्कीले बताए ।
“भएको सबै जमिन बाँझो भईसक्यो थोरै जमिनमा लगाएको बाली पनी सखाप परे अब बसाई सर्ने तयारीमा छु ” उनले भने । पहिले बारीमा लगाएका अन्नबालीहरु संकलन गर्नलाई बारीमा बाँदर लखेट्न रुगालु बस्नु पर्दथ्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडा समेत बोक्न थालेपछि गाउभरी नै बांदरको आतंक बढेको कर्णबहादुर लिम्बुले बताए ।
लिम्बुका अनुसार अहिले अनिवार्य दिनभर घरमा बादर लखेट्न घर रुगालु बस्नु पर्ने बाध्यता रहेको छ । बांदर आतंकले स्थानीयले बारीमा लगाएको आलु, तोरी, तरकारीहरु, उखु लगायतका बालीमा बांदरले उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थाग्रोमा चढेर मकै खाने र पाक्न लागेकावालीहरु खाने गरेको छ ।
बादंरको आतंक अत्यन्तै बढेकाले बसाई सर्नेको संख्या बढेको छ । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाई सरी अन्यत्र गएका छन । बासुदेव भट्टराई, राजन भट्टराई, भिम थापा, भक्त बहादुर कार्की लगायत धेरै परिवार बसाई सरी अन्यात्र गई सकेका छन ।
बसाई सर्ने उचित स्थान भए तुरुन्त गाउका १० घरधरी जती बसाई सर्ने मनस्थितिमा रहेका तर बसाई सर्ने अनुकुलता नभएकाले बांदरको ज्यादती सहेर बस्न वाध्य भएको पीडितहरु बताउँछन ।
बांदरको आतकंका कारण यस वर्षको बाली कसरी भित्र्याउने भनेर स्थानीयवासीहरु चिन्तामा छन । छथर गाउँपालिकाका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुंग, र आङदिम गाउँका सुख्खा क्षेत्रका बासिन्दा पनी जंगली जनावरबाट दुःख झेलिरहेका छन् ।
तमोरले छोएका जंगल र वस्तीहरुमा सुख्खा बढेसँगै जंगली जनावारहरुको आहारा कम हुन थालेकाले अहिले जंगली जनावारहरु बस्ती नजिक हुँदै घरसम्म आउन थालेको स्थानियवासीहरुको भनाई छ । किसानहरुको समस्यालाई समाधानको निम्ती छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामाग्री परिक्षण गर्ने तयारी भई रहेको अध्यक्ष सन्तबिर लिम्बुले बताए ।
प्रतिक्रिया दिनुहोस्