
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा ‘ई’ को अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ ।
कोभिड–१९ को सबल ब्यवस्थापनको माग राख्दै १६ दिन देखि सत्याग्रहमा रहेका उहाँलाई भेट्न डा. शेखर कांग्रेस केन्द्रीय सदस्यहरु, गुरुराज घिमिरे र जिवन परियारलाई साथ लिएर सत्याग्रह स्थल पुग्नुभएको हो ।
डा.कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पुर्ण समर्थन जनाउनुभयो ।
संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा डा.कोइरालाले धन्यवाद समेत दिनुभयो ।
कोइरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता समेत जनाउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पछिल्ला दिनमा सत्याग्रह समर्थित युवाहरूप्रति सरकारले गरेको अमानवीय ब्यबहार र धरपकडले आफूहरूलाई दुखी बनाएको बताउनुभयो ।
घिमिरेले आफुहरु आन्दोलनरत युवाहरूको माग सँगै रहेको बताउँदै उहाँहरूलाई एक्लो महसुस नगर्न आग्रह गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य जिवन परियारले सरकारी रबैया र अराजकता बिरुद्ध सत्याग्रह गरेर युवाहरूले अत्यन्तै राम्रो काम गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्