Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कोरोना नियन्त्रणका लागि आवश्यक प्रबन्ध मिलाउन उच्च अदालत जनकपुरको आदेश


0
Shares

coronavirus

वीरगन्ज, साउन १६ । वीरगन्जमा कोरोना संक्रमण फैलिँदै गएपछि सरकारलाई आवश्यक व्यवस्था मिलाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

वीरगन्जका अधिवक्ता सुधीर कर्णले बुधबार कोरोना संक्रमण नियन्त्रणमा तीनओटै सरकार उदासीन भएको भन्दै रिट दर्ता गर्नुभएको थियो ।

उहाँले दर्ता गरेको निवेदनमा कानुनको पालना गरी संक्रमितको सही व्यवस्थापन र उपचार गर्नुपर्नेलगायतको माग गरिएको थियो ।

‘डब्ल्यूएचओ’ तथा नेपाल सरकारको ‘प्रोटोकल’विपरीत कार्य भइरहेको भन्दै दर्ता भएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको इजलासले गरेको फैसलामा १५ दिनभित्र सबै आवश्यक व्यवस्थापनहरु मिलाउन आदेश गरेको छ ।

शुक्रबार गरिएको आदेशमा सरकार तथा सरोकारवाला निकायहरुलाई निर्देशात्मक आदेश जारी गर्दै नेपाल–भारत सीमा प्रवेशमा कड़ाइ गर्न, १५ दिनभित्र नारायणी अस्पताल सुचारु गर्न/गराउन, कोरोना संक्रमितको मृत्युपछि सम्मानजनक सदगत गर्न, तीनै तहका सरकारहरुले समन्वय गरी जाँचको दायरा बढ़ाउनेलगायत प्रबन्ध अविलम्ब गर्न लगाएको छ ।

प्रदेश, स्थानीय सरकार तथा स्थानीय प्रशासनले कोभिड–१९ संक्रमितको उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा उजुरी परेपछि यस्तो आदेश जारी गरिएको छ ।