उत्तेजनामा नआऔं, पार्टी विभाजनको सम्मुख छः नेकपा अध्यक्ष दाहाल « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


उत्तेजनामा नआऔं, पार्टी विभाजनको सम्मुख छः नेकपा अध्यक्ष दाहाल


0
Shares

NCP kp oli prachanda dahal meeting

काठमाडौं, साउन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्वीकार्नुभएको छ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको शैलीलाई लिएर पार्टीभित्र तीब्र विवाद भइरहेका बेला दाहालले पार्टी विभाजनको मुखैमा रहेको बताउनुभएको हो ।

ओलीका कारण सरकार र पार्टी दुबै विफलता उन्मुख भएको भन्दै दाहाल–माधव नेपाललगायत नेता ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन खोज्दा नेकपाभित्रको विवाद चरमोत्कर्षमा छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले दाहालसँग सल्लाह नै नगरी स्थगित गरिदिएपछि दाहाल–नेपाल पक्षीय भेलामा दाहालले पार्टी विभाजनकै मुखमा पुगेको बताउनुभएको हो ।

ओलीले स्थगित गरेपनि स्थायी कमिटी बैठक गरेरै देखाइदिने भन्दै भेला भएका दाहाल–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै दाहालले धेरै उत्तेजनामा नआउन सम्झाउनुभएको थियो ।

बैठकमा दाहाल र नेपाल पक्षका २८ भन्दा बढी स्थायी समिति सदस्य सहभागी रहेको एक नेताले बताए । ओली नआएपछि बैठककै बीचमा दाहाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमै ओलीलाई भेटेर बैठक एकलौटी रुपमा किन रोकेको भन्दै जवाफ माग्नुभएको थियो ।

बैठकमा दाहालले निकै कठिनतापूर्वक पार्टी एक गरिएको भन्दैस्थायी समिति सदस्यहरुलाई उत्तेजित नहुन आग्रह गर्दै पार्टी फुटेर कसैलाई फाइदा नहुने बताउनुभएको थियो ।

अर्कातिर ओली पक्ष पनि प्रधानमन्त्री निवासभित्रै दाहाल–नेपालले स्थायी कमिटी बैठक चलाएमा त्यसको प्रतिकार कसरी गर्ने भन्ने रणनीति बनाउन गूट छलफल गरेका थिए । प्रधानमन्त्री निवासभित्र ओली गूट र बाहिरको हलमा दाहाल–नेपाल गूटको भेला भएको थियो ।

ओलीनिकट संसदीय दलका उपनेता सुवास नेम्बाङले भने स्थायी कमिटी बैठक औपचारिक रुपमा स्थगन भइसकेकाले दाहाल–नेपालले बैठक चलाउन नसक्ने प्रतिक्रिया दिनुभएको थियो ।

दाहाल–नेपालले खुमलटारमा गर्ने गरेको बैठक बालुवाटारमा हुने बाहेक उहाँहरुले अरु केही गर्न नसक्ने उहाँको भनाइ थियो ।

यसअघि ओलीले मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित गरिदिनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभएको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षको सहमति बिनै ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको भन्दै आफूहरुले नमान्ने प्रतिक्रिया दिनुभएको थियो ।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल–माधव नेपालबीचको सत्ता संघर्षका कारण नेकपा फुटको डिलमा पुगेको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गर्ने निचोडमा दाहाल पक्षीय नेताहरु पुगेका बेला ओलीले बैठक नै स्थगित गर्दिनुभएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्षमा रहेका दाहाल र माधव नेपालसहितका नेताहरुले सोमबार बैठक गरी अब बहुमतबाटै निर्णय लिने पक्षमा उभिनुभएको थियो ।

पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका थिए ।

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहनुभएको छ ।