१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


डा. केसीद्वारा जुम्लाबाटै सभालाई सम्बोधन, सरकारले विज्ञले दिएको ‘औषधि’ खाएन : माथेमा (भिडियो)


0
Shares

मीरा बस्नेत/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार ३० । जुम्लामा आमरण अनशनरत् प्रा. डा. गोविन्द केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विगत १५ दिनदेखि अनशरत् डा. केसीका माग पूरा गर्नुपर्ने माग गर्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघरमन्डलामा प्रदर्शन गरेका हुन् ।

माथेमा प्रतिवेदन लागू गर्नुपर्ने, चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग उनीहरुले गरेका थिए ।

माइतीघरमन्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

डा. गोविन्द केसीले जुम्लाबाटै फोनमार्फत् सभालाई सम्बोधन गरेका थिए ।

प्रदर्शनकारीहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले चिकित्सा शिक्षा विधेयक आइतबार संसदमा दर्ता गर्न लागेको भन्दै सरकार विधेयकको विषयको गहिराइमा पुग्न नसकेको आरोप लगाए ।

‘गुणस्तर नभएका कारण बंगलादेशमा डाक्टर देखेर डराउनुपर्ने अवस्था’ रहेको उनको भनाइ थियो ।

‘मेडिकल कलेज खोलेपछि विदेशी पढ्न आउँछन् र टन्न डलर कमाएर धनी हुन्छौं भन्ने भ्रम नपाल्न’ आग्रह गर्दै नेता थापाले भने–‘यो पानीजहाजजस्तो होइन, प्रधानमन्त्रीज्यू !’

अहिलेको प्रावधानले काठमाडौं उपत्यकामा थप २० ओटा मेडिकल कलेज खुल्ने निश्चित रहेको उनको भनाइ थियो ।

मेडिकल कलेज खोल्नका लागि तीन वर्षसम्म अस्पताल चलाएको हुनुपर्ने प्रावधान हटाउनुपर्ने एउटामात्र चित्तबुझ्दो तर्क दिए प्रधानमन्त्रीले गरेको निर्णय आफूले पनि स्वीकार्ने नेता थापाले बताए ।

डा. केदारभक्त माथेमाले अहिलेको सरकारमा दुईतिहाइको दम्भ भएको बताउँदै शेरबहादुर देउवा सरकारमा हुँदा पारित भएको अध्यादेशमा परिवर्तन गर्न नहुने बताए ।

उनले केपी ओली नेतृत्वको सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नहुने विज्ञहरुको सुझावलाई पनि नकारेको आरोप लगाए ।

सभामा कानुनविद् सुरेन्द्र भण्डारीले गंगामाया अधिकारीलाईजस्तो उधारो न्याय डा. केसीलाई नचल्ने बताए ।

भिडियो हेर्नुहोस्