२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्यूठानका सामुदायिक विद्यालयद्वारा समुदायस्तरमै पुगेर पठन–पाठन सुरु


0
Shares

school pyuthan

राजेश जिसी (इमेज)

खलंगा, साउन ८ । कोरोनाभाइरसका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।

सरकारले पठन–पाठन गराउनका लागि दूरशिक्षा कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी नहुँदा प्यूठानका सामुदायिक विद्यालयले भने समुदायमै पुगेर पठन–पाठन गराउन सुरु गरेका छन् ।

कोरोनाभाइरसका कारण लामो समयदेखि विद्यालय बन्द रहेका छन् । संक्रमणको जोखिमका कारण विद्यालय खुल्ने संकेत नदेखिएपछि सरकारले रेडियो तथा टेलिभिजनबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गरेपनि कार्यक्रम प्रभावकारी हुनसकेको छैन ।

उता, निजी विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् । विद्यालयले अनलाइन कक्षाको शुल्क उठाउन पाउनुपर्ने भन्दै दूरशिक्षा कार्यक्रम बन्द गरेका छन् ।

तर, प्यूठानका केही सामुदायिक विद्यालयले भने समुदायस्तरमा पुगेर पठन–पाठन सुरु गरेका छन् ।

प्यूठानको झिमरुक गाउँपालिका–४, बाङ्गेफेदीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयले समुदायस्तरमै पुगेर पठन–पाठन सुरु गरेको छ ।

विद्यालयले सामाजिक दूरी कायम गर्दै मास्क र स्यानिटाइजर प्रयोग गरी खुला चौरमा पठन–पाठन सुरु गरेको लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक पदम थापा बताउनुहुन्छ ।

त्यस्तै, मल्लरानी गाउँपालिका–४, पाण्डेडाँडामा रहेको भैरवनाथ प्राथमिक विद्यालयले विद्यार्थीलाई पायक पर्नेगरी तीन समूहमा विद्यार्थी जम्मा गरेर उनीहरुकै टोलमा पढाउने गरिरहेको छ ।

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको स्मरणशक्ति ह्रास हुँदै गएका कारण समुदायमै पुगेर पठन–पाठन गराउन थालिएको छ ।

शिक्षकहरुले दुई दिनको फरकमा समुदायमा पुगेर अध्यापन गराउँदै आएको भैरवनाथ प्राथमिक विद्यालयका प्रधानाध्यापक मधुसुदन खड्का बताउनुहुन्छ ।

‘लकडाउन’को समयमा पनि सामुदायिक विद्यालयले समुदायमै पुगेर अध्यापन गराउँदा विद्यार्थी तथा अभिभावक खुसी भएका छन् ।

भिडियो हेर्नुहोस्