चीनमा फेरि खुल्न थाले फिल्म हल • Image Khabar Image Khabar


चीनमा फेरि खुल्न थाले फिल्म हल


Imagekhabar
५ श्रावण २०७७, सोमबार १४:५८

चीनमा फेरि खुल्न थाले फिल्म हल

काठमाडौं, साउन ५ । चीनमा कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरू छ महिनापछि फेरि खुल्न थालेका छन् ।

चिनियाँ चलचित्र प्रशासनले सोमबारदेखि कम जोखिम भएका स्थानहरूमा फिल्म हल खोल्न सकिने जनाएको छ ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएकाले देशभरका लगभग सबै फिल्म हल खुल्ने अनुमान गरिएको छ ।

कोरोनाका कारण गत जनवरीमा सुरु भएको ‘लकडाउन’ले चीनका फिल्म हलहरू नराम्ररी प्रभावित भएका र केही स्थायीरूपमा बन्द भइसकेका छन् ।

खुल्ने फिल्म हलहरूले पनि कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा संख्यामा मात्रै चलचित्र देखाउन पाइने नियम पालना गर्नुपर्नेछ ।

दर्शकहरूको शरीरको तापक्रम नापिने र दर्शक र फिल्म हलका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ ।

यस्तै, फिल्मको टिकट अनलाइनबाट किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियम लागू गरिएको छ । फिल्म हलमा खानेकुरा र पेयपदार्थ बेच्न पाइने छैन ।

फिल्मको लागि विश्वको दोस्रो ठूलो बजार मानिने चीनमा सन् २०१९ मा नौ अर्ब डलरभन्दा बढीको व्यापार भएको थियो । तर, यस वर्ष धेरै चिनियाँ र अंग्रेजी फिल्महरूको प्रदर्शन रद्द भएको छ ।

गत डिसेम्बरको अन्त्यमा चीनमा वुहानमा पहिलोपटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्