Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


मल नपाएपछि किसानहरु रित्तो बोरा बोकेर आन्दोलनमा


0
Shares

-नवराज छत्कुल्ली/ईमेज

धादिङ । सरकारले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको भनिए पनि किसानहरु भने मल, बीउ, सिँचाइ लगायतका आधारभूत समस्यामा पिल्सिएका छन् ।

बालीनालीमा मल राख्नुपर्ने बेला भएपनि बजारमा मल उपलब्ध नभएपछि धादिङबेशीका किसानहरु रित्तो बोरा बोकेर आन्दोलनमा उत्रिएका हुन् ।

चाहिएको बेलामा मल किन्न नपाएपछि किसानहरुले पटकपटक हैरानी बेहोर्नुपरेको छ ।

मलको लागि दिनहुँ सदरमुकाम धाउँदासमेत मल उपलब्ध नभएपछि धादिङबेशीका किसानहरु आन्दोलित भएका छन् ।

आफूहरुले सहज रुपमा मल पाउनुपर्ने माग राख्दै रित्तो बोरा बोकेर आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

पानी परेपछिको  मौसम मल हाल्नको लागि अनुकूल भएको र मल हालेर बालीनाली गोड्दा राम्रो उब्जनी हुने भएकाले मल लिन नीलकण्ठ सहकारीमा किसानहरु बिहान ६ बजेदेखि लाइन लागेका थिए ।

तर सहकारीले २ सय बोरा मात्र मल आएकाले सबैलाई बाँड्न नसक्ने बताएपछि किसानहरु आक्रोशित बनेका हुन् ।

यस्ता दृश्यले कृषिको उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर बनाउने सरकारी नीतिका फेहरिस्तालाई गिज्याइरहेको थियो ।

आफैँले पैसा तिरेर किन्न खोज्दा पनि १ बोरा मल नपाउँदा किसानहरु आक्रोशित र निराश देखिन्थे ।

मलका लागि हारगुहार गर्नुपर्ने अवस्था वर्सेनि देखिए पनि सरोकारवाला निकायको बेवास्ता र उदासीनताले कृषकहरु दिक्दार छन् ।

महिनामा १०/१५ पटक मल खोज्दै बजार चहारे पनि सधैँ रित्तो हात फर्किनुपरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको गुनासो छ ।

कृषिका न्यूनतम  आवश्यकतामै रोइकराइ गर्नुपर्ने यो नियति धादिङवेशीका जनताको मात्र होइन अधिकांश कृषकहरुको कारुणिक चित्रलाई यसैले प्रतिनिधित्व गरेको छ ।