
सुनसरी, असार ३० । सुनसरीको सप्तकोशीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
खतराको संकेतसँगै कोशी ब्यारेजका ५६ मध्ये २४ वटा ढोका खुला गरिएको छ ।
पानीको निरन्तर बहाव बढेपछि भारतीय पक्षसँग सल्लाह गरेर आवश्यकताअनुसार थप ढोका खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजो साँझ १ लाख ७५ हजार ८ सय २५ क्युसेक प्रतिसेकेन्ड पुगेको सप्तकोशीको बहाव आज बिहान भने केही कम भएर १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।
पानीको बहावमा थोरै कमी देखिए पनि खतराको संकेत रातो बत्ती बालिएको हो । बहाव बढेसँगै रातो बत्तीले खतराको संकेत दिँदा पूर्वीतटका बासिन्दा त्रसित हुन थालेका छन् ।
०६५ साल भदौ २ गते कोशीको पूर्वीतट भत्किँदा कोशीमा पानीको बहाव १ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड थियो ।
त्यसबेला सुनसरीको कोशी गाउँपालिका डुबान भएर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए भने ४ हजार बिगाहभन्दा बढी खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्