६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


मोफसलमा पनि बक्स अफिस, लालबन्दीको वीणा हलबाट सुरु


0
Shares

काठमाडौं, जेठ १८ । काठमाडौं उपत्यकाबाहिर पनि बक्स अफिस प्रणाली सुरु भएको छ ।

उपत्यकामा बक्स अफिस प्रणाली लागू भएको एक वर्षपछि काठमाडौंबाहिर पनि सुरु गरिएको हो ।

आउँदो साउनसम्ममा देशैभर बक्स अफिस सुचारु गर्ने नीति लिइएको छ ।

सोहीअनुसार शनिबार सर्लाहीको लालबन्दीस्थित वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको सुरुआत गरिएको हो ।

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनलाइन टिकेटिङ प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक शुभारम्भ गरेका हुन् ।

सो अवसरमा मन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माणमा बोर्ड लाग्नुपर्नेमा जोड दिए ।

लालबन्दीको बिणा हलसँगै सर्लाही, महोत्तरी, पर्सालगायत प्रदेश नम्बर–२ का १० ओटा हलहरुमा बक्स अफिस सुचारु गरिएको छ ।

बक्स अफिस सुचारुसँगै बक्स अफिसको सबै रिपोर्ट ‘अनटाइम’ पाउन सकिने जनाइएको छ ।

सातओटै प्रदेशमा साउन १ गतेसम्म बक्स अफिस सुचारु गरिसक्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए ।

काठमाडौंका हलहरुलाई पनि साउन १ गतेभित्र अनटाइममा डाटा पठाउन उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेश–२ का प्रदेशसभा सदस्य बेचु लुंगेली, चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस प्रणालीका संयोजका नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतको उपस्थिति थियो ।

मोफसलमा बक्स अफिस सुचारु गरिएको वीणा हलका सन्चालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् ।