के ट्रम्प सरुवा रोग विज्ञ डा.फाउचीलाई हटाउँदै छन् ? • Image Khabar Image Khabar


के ट्रम्प सरुवा रोग विज्ञ डा.फाउचीलाई हटाउँदै छन् ?


Imagekhabar
३० असार २०७७, मंगलवार १३:४३

USA dr anthony fauci Trump Whitehouse

एजेन्सी, असार ३० । कोरोना भाइरसको नियन्त्रण र रोकथामका सन्दर्भमा राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा फरक धारणा राखिरहुनभएका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीविरुद्ध ट्रम्प प्रशासन जुटेको देखिएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति ट्रम्प र डा. फाउचीबीच तनाव उत्कर्षमा पुगेका बेला ह्वाइट हाउसले फाउचीविरुद्ध गोप्य रुपमा संगठित प्रयास गरिरहेको छ ।

डा. फाउचीको आलोचनामा निरन्तर लागेको ह्वाइट हाउसका अधिकारीले विगतमा डा. फाउचीले गरेका तर गलत साबित टिप्पणीलाई एकीकृत गरेरै पत्रकारहरुलाई बाँडेपछि यो षड्यन्त्रको आभाष भएको हो ।

अमेरिकी नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) का प्रमुख डा. फाउचीविरुद्ध ह्वाइट हाउसका अधिकारीले बाँडेको सामग्रीमा महामारीको अवधिमा मास्कका सम्बन्धमा उहाँले गरेका फरक सुझावहरु छन् ।

लकडाउन नगरी खुल्ला गरेर जानुपर्छ भन्ने ट्रम्प धरणाको शुरुदेखि नै आलोचक फाउचीलाई कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेका बेला ‘बर्खास्त’ गर्नेसम्मको खेल शुरु भएको जनाइएको छ ।

के ट्रम्प सरुवा रोग विज्ञ डा.फाउचीलाई हटाउँदै छन् ?

यद्यपि, ह्वाइट हाउसकी प्रवक्ता केली म्याकनेनीले भने ट्रम्प र डा. फाउचीबीच राम्रो सम्बन्ध रहेको दाबी गर्नुभयो । सिएनएनले त डा. फाउची र ट्रम्पबीच गत जुनको पहिलो हप्ता यता कुराकानी नै नभएको दाबी गरेको छ ।

ह्वाइट हाउसले डा. फाउचीलाई टेलिभिजन अन्तर्वार्तामा जानसमेत अवरोध गरेको दबी ती सञ्चार माध्यमको छ । ट्रम्प कोरोना भाइरस गम्भीर नरहेको लगातार बताउँदै आउनुभएको छ । फाउचीले भने कोरोना भाइरस अति खराब बनेको भन्दै प्रयास राम्रो नभए थप भयावह अवस्था चेतावनी दिँदै आउनु भएको छ ।

सन् १९८४ देखि सरकारसँग काम गरिरहनुभएका डा. फाउचीलाई चुनावका मुखमा बर्खास्त गर्दा गलत सन्देश जाने सुझाव पछि भने ट्रम्प र ह्वाइट हाउस सम्बन्ध सुधारमा लागेको बताइएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या पौने ३५ लाख पुग्दा मृतक १ लाख ३८ हजार नाघेका छन् ।

प्रतिक्रिया दिनुहोस्