Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सांसदलाई ६ करोड बाँड्ने सरकारी योजनाको कांग्रेसद्वारा विरोध


0
Shares

काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सांसदलाई ६ करोड रुपैयाँ बाँड्ने सरकारी योजनाको विरोध गरेको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बजेटप्रति धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ‘छाया सरकार’का अर्थमन्त्री डा. मीनेन्द्र रिजालले स्थानीय जनप्रतिनिधि नहुँदा यो कार्यक्रम सुरु गरिएको भन्दै अहिले आवश्यक नभएको बताए ।

यो बेलामा सांसदले तजबिजी अधिकार प्रयोग गरेर योजना छान्न जरुरी नभएको उनको भनाइ छ ।

सुशील कोइराला प्रधानमन्त्री भएका बेला पूर्वाधार विकास कोषमार्फत् सांसदहरुलाई रकम बाँड्न सुरु गरिएको थियो ।

सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गर्दै डा. रिजालले बजेटमा धेरै पक्ष समेटिएपनि कार्यान्वयनको ठोस आधार नरहेको बताए ।

खाडी मुलुकमा काम गरेर पठाएको विप्रेषणबाट संकलित राजस्वबाट सरकारले बजेट वितरण गरेको कांग्रेसको आरोप छ ।

कर्मचारीको वृत्तिविकासलाई असर गर्नेगरी समायोजन विधेयक ल्याएर सिंगो कर्मचारी प्रशासनलाई अघिल्लो वर्ष असन्तुष्ट बनाएको सरकारले दोस्रो बजेटमार्फत् तलब वृद्धि गरी रिझाउने प्रयत्न गरेको कांग्रेसको टिप्पणी छ ।

उसले बढेको तलबमानलाई राष्ट्रसेवक कर्मचारीका लागि ‘शीतल मिठाइ’को संज्ञा दिएको छ ।