Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको शानदार सुरुआत, पाकिस्तानको निरीह प्रदर्शन


0
Shares

काठमाडौं, जेठ १७ । वेस्ट इन्डिजले इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा जारी विश्वकप एकदिवसीय क्रिकेटमा शानदार सुरुआत गरेको छ ।

शुक्रबार वेस्ट इन्डिजले पाकिस्तानमाथि ७ विकेटको जित हासिल गरेको हो ।

नटिङ्घममा भएको खेलमा १०६ रनको झिनो चुनौती वेस्ट इन्डिजले १३ ओभर ४ बलमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनिङ ब्याट्सम्यान क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ५० रन जोडे ।

पाकिस्तानका मोहम्मद अमिरले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमात्र क्रिजमा टिक्दै १०५ रन बनाएको थियो ।

फखर जमान र बाबर अजामले समान २२ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा वेस्ट इन्डिजका ओशाने थोमसले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, जासन होल्डरले ३ तथा अलराउन्डर आन्द्रे रसेलले २ विकेट लिए ।

ओशाने ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले हराएको थियो ।

विश्वकप क्रिकेटको यो १२औं संस्करणमा १० टोली सहभागी छन् ।

‘राउन्ड रोबिन लिग’का आधारमा जारी प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।