Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सत्ताको नेतृत्व हस्तान्तरणको विषयले तरंग, दाहाल र ओलीपक्षका आ–आफ्नै कुरा


0
Shares

सरोज अधिकारी र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, जेठ १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एकाएक सत्ताको नेतृत्व हस्तान्तरणको विषयले तरंग ल्याइदिएको छ ।

पार्टी एकीकरणकाक्रममा भएको ‘गोप्य’ सहमतिको विषय अध्यक्ष पुष्पकमल दाहालले उठाइदिएपछि नेकपाभित्र एकाएक सत्ता नेतृत्व हस्तान्तरणको विषयले चर्चा पाएको हो ।

बन्द कोठामा बसेर चार नेताले गरेको हस्ताक्षर सार्वजनिक नै भएपछि नेकपाका अन्य नेतासमेत अलमलमा परेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकारको नेतृत्वका लागि प्रतिक्षारत् रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसहमतिअनुसार नै सहजै सत्ता हस्तान्तरण गर्नुपर्ने अभिव्यक्ति दिएपछि नेकपामा तरंग ल्याएको छ ।

अध्यक्ष दाहालले त्यतिमात्र भनेनन्, सहमति कार्यान्वयन नभए ‘सबैलाई अप्ठ्यारो पर्ने’ भन्दै थप दबाबसमेत सिर्जना गरे ।

त्यो अभिव्यक्ति दिएको केही घन्टामै गोप्य भनिएको सत्ता हस्तान्तरणलगायतका विषयमा भएको सहमतिको दस्तावेज सार्वजनिक भयो । यो घटनालाई निकै अर्थपूर्णरुपमा हेरिएको छ ।

ओली नेतृत्वको सरकार बनेको झन्डै १६ महिना पुग्नै लागेको छ । योबीचमा नेकपाभित्र एक पद एक व्यक्तिको कुरा पनि उठ्यो । तर, त्यो कार्यान्वयन नहुने अवस्था बन्यो ।

दाहालनिकटस्थहरुकाअनुसार प्रधानमन्त्री ओली एकलौटी ढंगबाट चल्दै गएको र यसअघिका सहमति पनि कार्यान्वयन नहुने हो कि भन्ने आशंका बढ्दै गएपछि दाहालले जानिबुझीकन नै यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेकपा नेता देवेन्द्र पौडेल पार्टी एकताकाक्रममा भएका सहमति आमजनतालाई सम्झाउनका लागि दाहालबाट यस्तो अभिव्यक्ति आएको बताउँछन् ।

बेला आएपछि सहमति कार्यान्वयनका लागि अध्यक्ष ओलीले नै प्रस्ताव गर्ने विश्वास उनको छ ।

एक वर्षअघि पार्टी घोषणा हुनु अघिल्लो दिन जेठ २ गते भएको भनिएको पाँचबुँदे सहमतिको चौथो बुँदामा दुई अध्यक्षले ‘आवश्यकताका आधारमा समान अवधिका लागि सरकारको नेतृत्व गर्ने’ भनिएको छ ।

सहमतिपत्रमा अध्यक्षद्वयसहित विष्णु पौडेल र जनार्दन शर्माको हस्ताक्षर छ ।

ओलीपक्षीय नेताहरु भने यो सहमतिबारे आफूहरुले जिम्मेवारी नलिने बताउन थालेका छन् ।

ओलीनिकट एक नेताले भने–‘यो सहमतिबारे जानकारी नै छैन । सहमति पार्टी कमिटीले अनुमोदन पनि गरेको छैन । कुनै नेतालाई मन लाग्यो भन्दैमा सत्ता हस्तान्तरण हुन्न ।’

तर, दाहालनिकटका नेताहरु भने एक व्यक्ति एक पदको अवधारणाअनुसार दाहाललाई अध्यक्ष बनाए ओली पाँचै वर्ष प्रधानमन्त्री बन्नसक्ने बताउँछन् ।

समान अवधि सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने हो भने अबको १४ महिनामा ओलीले सरकारको नेतृत्व छोड्नुपर्ने हुन्छ । ओली र दाहाल दुवै राजनीतिका चतुर खेलाडी मानिँदै आएका छन् ।

दुई चतुर खेलाडीले गरेको सहमतिको गोप्य दस्तावेज समयअगावै एकाएक सार्वजनिक हुनु र त्यसमाथि हस्ताक्षरकर्ताबाटै कार्यान्वयनको माग हुनुले नेकपाभित्रको सत्ता राजनीतिमा केही पाक्दैछ भन्ने संकेत गरेको छ ।

भिडियो हेर्नुहोस्