८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको आज अन्त्येष्टि गरिने


0
Shares

काठमाडौं, असार ३० । हृदयाघातका कारण निधन भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको आज रौतहटमा अन्त्येष्टि गरिने भएको छ ।

काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा हिजो साँझ निधन भएका ५३ वर्षीय आलमको शव आज गृह जिल्ला रौतहटमा पुर्‍याएर अन्त्येष्टि गरिने भएको हो ।

रौतहट लगिनुअघि उनको शव श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पार्टी कार्यालयमा पुगेर आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको झन्डा ओढाएका थिए ।

आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएका बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म आलम स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

त्यसबेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।

गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा भने आलम नेकपामा प्रवेश गरेका हुन ।

उनी रौतहट क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट चुनाव लडे पनि पराजित भएका थिए ।