Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


अध्यागमन अधिकृत अर्यालविरुद्ध अकुत सम्पत्तिको मुद्दा


0
Shares

काठमाडौं, जेठ १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत् अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध बिहीबार मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार अधिकृत अर्याल वि.सं. २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि परीक्षण गरिएको गत मंसिरसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा अनाधिकतरुपमा चल–अचल सम्पत्ति जोडेको पाइएको छ ।

अधिकृत अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, अंश नगद र जग्गा बिक्रीलगायतबाट रु दुई करोड ४९ लाख ९२ हजार ७३० बराबरको आय वैध रहेको छ ।

तर, सोही अवधिमा अर्यालले आफू र श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल–अचल सम्पत्ति तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात गरी कुल रु चार करोड ५६ लाख ८१ हजार ८४१ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

वैध आयको तुलनामा स्रोत नखुलेको रु दुई करोड ६ लाख ८९ हजार १११ बराबरको सम्पत्ति देखिएकाले आयोगले अधिकृत अर्याल र उनकी श्रीमती सरिता नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस