३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


म्यानपावर कम्पनीहरुमा ठगीः रकम असुल्न सरकारी निर्देशनकै वेवास्ता (हेरौं भिडियो)


0
Shares

दीपक श्रेष्ठ र सानु मालि(ईमेज)

काठमाडौं । सरकारी निर्णयको उपेक्षा गर्दै म्यानपावर कम्पनीहरुले नगदमै कारोबार गर्ने गरेपछि वैदेशिक रोजगारीका क्रममा ठगिनेहरु बढ्दै गएका छन् ।

म्यानपावर कम्पनीले सम्पूर्ण कारोबार बैंकिङ प्रक्रियाबाट गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर म्यानपावर कम्पनीका एजेन्टले आफूखुसी नगदै कारोबार गरेपछि ठगिने क्रम नरोकिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीहरुलाई बैंकिङ प्रणालीबाट मात्र आर्थिक कारोबार गर्न पटकपटक निर्देशन दिँदै आएको छ ।

तर, म्यानपावर व्यवसायीले भने सरकारी निर्देशनको वेवास्ता गर्दै आफ्ना एजेन्टमार्फत नगद मै कारोबार गरी श्रमिकलाई विदेश पठाउँदै आएका छन् ।

व्यवसायीले तोकेको मापदण्डभन्दा बढी असुली गर्न बैंकिङ कारोबार गर्न नमानेका हुन् ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग धेरै रकमको कारोबार गर्ने गरे पनि १० हजार रुपैयाँ मात्र लिएको कागज गराउने गरेका छन् ।

जसका कारण ठगीमा परेकाहरुले आफूले तिरेको वास्तविक प्रमाण पेश गर्न नसक्दा विगोदाबी गरेजति क्षतिपूर्ति पाउने गरेका छैनन् ।

म्यानपावरसँग गरेको सम्झौताअनुसार काम र पैसा नपाएपछि स्वदेश फर्किएकाहरु अहिले आफ्नो लगानी फिर्ता गराउन वैदेशिक रोजगार विभाग धाउन थालेका छन् ।

तर, उनीहरुसँग आफूले बुझाएको रकमको प्रमाण नहुँदा समस्यामा पर्ने गरेका छन् ।

विभागले भने म्यानपार कम्पनीसँग कारोबार गर्दा बैंकिङ प्रणालीबाट मात्र गर्न अपील गर्दै आएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईंले एजेन्टबाट बढी ठगी गरिने देखिएको भन्दै आफू जाने मुलुकबारे विदेशबाट फर्किएकाहरुसँग राम्रो जानकारी लिएर गए मात्र सुरक्षित हुन सकिने बताए ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७० सालयता विभागमा व्यक्तिगत ठगीका ६ सय ५७ वटा उजुरी परेका छन् ।

तीमध्ये ६९ वटा उजुरी विभागले टुंगो लगाएको छ भने ५ सय ८८ वटा उजुरी अदालत पुगेका छन् ।

त्यसैगरी २०६० सालयता संस्थागत ठगीका ९ सय ९२ उजुरी परेकोमा ३ सय २१ को टुंगो लागिसकेको छ भने ६ सय ७१ वटा उजुरी अदालतमा पुगेका छन् ।

कूटनीतिक पहलका लागि कन्सुलरमा १८ वटा सिफारिस गरिएको विभागले जनाएको छ ।

विभागले ठगी गर्नेहरुलाई कारबाही गरि १३ लाख रुपैयाँ जरिवाना भराइएको जनाएको छ ।