१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सर्पदंसका बिरामीको संख्या बढ्दै


0
Shares

गौशाला, जेठ ३० । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् ।

जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत ती सर्पले सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा झाले बताए ।

डा झाले यस अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताए ।

अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी बढेको छ ।

जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा पर्ने गर्दछन् । (रासस)