३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


बालकको हत्यामा संलग्न अपहरणकारीले ३० लाख फिरौती मागेको खुल्यो


0
Shares

बारा/पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्याको कारण फिरौती माग भएको खुलेको छ ।

स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।

गत शुक्रबार अपहरणमा परेका करणको शव बाराको कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको हो ।

प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले धेरै पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए ।

तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए ।

अपहरणकारीले बालक फिर्ता गर्न आनाकानी गरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी टोलीलाई शव देखाएर उनीहरु भाग्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

विकास शर्मा, सिकिन्द्र साह र रामदिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । अपहरणकारीको कम्मरमुनि गोली लागेको छ ।

नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् । शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका शर्मा अपहरणका योजनाकार रहेको प्रहरीको दाबी छ ।