सिक्टा सिँचाइको पानी खेतमा • Image Khabar Image Khabar


सिक्टा सिँचाइको पानी खेतमा


Imagekhabar
२२ असार २०७७, सोमबार १९:०७

सिक्टा सिँचाइको पानी खेतमा

बाँके, असार २२ । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेको छ ।

राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।

सधैँ रोपाइँ गर्ने बेला आकाशे पानीको भरमा बसेका किसानहरुलाई अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ ।

सिक्टाको पानी खेतबारीमा पुगेपछि नहरको पानी पुगेको गाँउहरुमा किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेका छन ।

आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताउनुभयो ।

यसअघि परीक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मूल नहर पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चङ्गाई नाला नजीक भत्किएको थियो ।

अहिले दुई महिनाभन्दा बढी समय सञ्चालन हुँदा पनि नहरमा कुनै समस्या देखिएको छैन ।

सिक्टा सिँंचाइ आयोजनाको कुल बजेट रु २५ अर्ब रहेकामा रु १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी रु ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ ।

पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिंचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्