
वीरगन्ज । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ ।
स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको छ ।
प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो ।
अपहरणकारीको कम्मरमुनि गोली लागेको छ । नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् ।
शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका शर्मा अपहरणका योजनाकार रहेको प्रहरी दाबी छ ।
प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए ।
तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए ।
अपहरणकारीले बालक फिर्ता गर्न आनाकानी गरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी टोलीलाई शव देखाएर उनीहरु भाग्न खोजेपछि प्रहरीले उनीहरुलाई गोली हानेर नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्