६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जगातीदेखि कोटेश्वरको रुटमा अब टिपरका लागि छुट्टै लेन (भिडियो)


0
Shares

मीरा बस्नेत/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार २९ । सामान ढुवानीका लागि प्रयोग हुने टिपरको सडक आतंक असह्यरुपमा बढेपछि गृह मन्त्रालयले टिपर सन्चालनमा केही कडाइ गर्ने अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले टिपर सन्चालनका लागि निश्चित समय तोकेर दुर्घटना न्यूनीकरण गर्न खोजेको छ ।

गत जेठ ३० गते काठमाडौंको जडीबुटीमा टिपरले ठक्कर दिँदा स्कुटीमा सवार २४ वर्षीया अस्मिता भण्डारीको ज्यान गयो । यही असार २६ गते टिपरकै ठक्करबाट मोटरसाइकलमा सवार भक्तपुरका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भयो ।

रोयल र अस्मितामात्रै होइन, उपत्यकाका सडकमा टिपरको ठक्करबाट ज्यान गुमाउनेहरु दर्जनौं छन् ।

गत आर्थिक वर्षमा उपत्यकामा सडक दुर्घटनामा ज्यान गुमाएका १६८ जनामध्ये ४० जना त टिपरकै शिकार बनेका छन् ।

उपत्यकामा सडक विस्तार गरेर फराकिलो बनाउनेक्रम जारी नै छ । तर, फराकिला सडकमा टिपरको आतंक झन्–झन् बढ्दो छ ।

‘रोमान्चक ड्राइभिङ’का लागि सडक ठूलो बनाइएको हो किजस्तो गरी टिपर चालकहरु बेपर्वाह चलाउने गर्दछन् ।

टिपरका कारण सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या बढेको तथ्य सरोकारवाला निकायहरुले पनि महसुस गरेजस्तो देखिएको छ ।

टिपर आतंक न्यूनीकरणका लागि भन्दै ट्राफिक प्रहरी महाशाखाले भक्तपुरको जगातीदेखि कोटेश्वरसम्मको रुटमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म मालबाहक र ठूला सवारी–साधन चलाउन प्रतिबन्ध लगाएको छ ।

टिपरको ठक्करबाट मृत्यु भएका सडक दुर्घटनाका अधिकांश घटनामा अपरिपक्क चालक र लापरबाहीपूर्ण ड्राइभिङ कारक हुने गरेको पाइएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तको भनाइ छ ।

एसएसपी पन्तले साउन १ गतेबाट जगातीदेखि कोटेश्वरको रुटमा ‘टाइमकार्ड’को व्यवस्था गर्न लागिएको जानकारी दिँदै प्रतिघन्टा ४० किलोमिटरभन्दा बढी गतिमा सवारी चलाउन नपाइने र टिपरका लागि छुट्टै लेनको व्यवस्था गरिने बताए ।

यति गर्दा पनि दुर्घटना न्यूनीकरण नभए टिपरलाई सम्पूर्ण उपत्यकाभित्र दिउँसोको समयमा चलाउन बन्देज लगाइने उनले बताए ।

गत वर्ष भदौ १ गतेदेखि नै सरकारले रिङरोडभित्र ट्रक, मिनिट्रक, टिपरलगायतका सबै मालबाहक सवारी–साधनलाई दिउँसोमा चलाउन बन्देज लगाएको छ । तर, यसको अनुगमन भने भएको पाइँदैन ।

अनुगमन नहुने र फिल्डमा खटिने प्रहरीसँगको मिलेमतोमा रिङरोडभित्र पनि मालबाहक साधन चल्ने गरेका पाइन्छ ।

भिडियो हेर्नुहोस्