काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छन् ।
१२ औं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गरिन ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटोमा रहेको पनि उनले बताइन ।
गणतन्त्र दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखि नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा पनि उनले व्यक्त गरेकी छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गरेका छन् ।
उनले नागरिकको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको र यसलाई सार्थक बनाउन सरकार दृढ रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको उनको शुभकामना सन्देशमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्