बाल यौन शोषणको आरोपमा बम्जन विरुद्ध मुद्दा दर्ता, १४ वर्ष कैदको माग • Image Khabar Image Khabar


बाल यौन शोषणको आरोपमा बम्जन विरुद्ध मुद्दा दर्ता, १४ वर्ष कैदको माग


Imagekhabar
१९ असार २०७७, शुक्रबार १८:२६

बाल यौन शोषणको आरोपमा बम्जन विरुद्ध मुद्दा दर्ता, १४ वर्ष कैदको माग

सर्लाही, असार १९ । तपस्वी भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्धा दर्ता भएको छ ।

लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै मुद्धा दर्ता गरीएको हो ।

मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ ।

मतियारको रुपमा रहेका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ ।

वि. स. २०७३ साल साउन मा आश्रमस्थलमै आनी बनेर बसेकी बालिकालाई विभिन्न प्रलोभन देखाइ बलात्कार गरेको र पीडितलाई डर धम्की देखाइएको दाबी मुद्दामा गरिएको छ ।

घटनाको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् ।

उनी १८ वर्षकी भएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले त्यस बेला नै अदालतबाट अनुमति लिएर प्रतिवादी बम्जनसहित उनका दुई मतियारलाई पक्राउ गर्न खोजे पनि पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्