
प्रज्ञा तिमल्सिना/कबिर महर्जन (इमेज)
काठमाडौं, असार २९ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औंपटकको अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा छाडेका छन् ।
उनीहरुले विरोधस्वरुप शुक्रबार माइतीघरमन्डलाबाट ओपीडी सेवा सुरु गरे ।
आकस्मिक सेवाबाहेक सबै सेवा छाडेका त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले सडकमै ओपीडी सेवा दिए ।
अनशन बसेको १४ दिनसम्म पनि सरकारले डा. केसीको माग सम्बोधन गराउन चासो नदिएपछि चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा छाडेको बताएका छन् ।
शिक्षण अस्पतालमा रहेका ३०० आवासीय चिकित्सकमध्ये ५० जना चिकित्सकमात्र डा. केसीको समर्थनमा आएका थिए ।
सधैं एकैसाथ, एक जमात भएर उभिने आवासीय चिकित्सकहरु भने यसपटक केही विभाजितजस्तो देखिएका छन् ।
आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले मेडिकल क्षेत्रको सुधारका लागि डा. केसीले १५औं अनशन बस्दासमेत सरकारले माग पूरा गर्न चासो नदेखाएपछि विरोधमा उत्रिएको बताए ।
शुक्रबारदेखि नै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका चिकित्सकहरुले माइतीघरमन्डलामा आँखा, नसारोग, ब्लडप्रेसर जाँचलगायतको उपचार झन्डै दुई घन्टा सन्चालन गरेका थिए । सर्वसाधारणहरु स्वास्थ्य जाँच गराउन आएका थिए ।
यसअघि जारी भएको राष्ट्रिय चिकित्सा अध्यादेशबमोजिम नै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने माग राख्दै डा. केसी जुम्लामा अनशनरत् छन् । उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।
डा. केसीले उठाएका सबै माग जायज भएको भन्दै आवासीय चिकित्सकहरुले माग पूरा नभएसम्म दिनहुँ माइतीघरमन्डलाबाटै ओपीडी सेवा सन्चालन गर्ने जनाएका छन् ।
सरकार र डा. केसी आ–आफ्नो अडानमा कायम रहँदा यो प्रकरण अझै केही दिन लम्बिने देखिन्छ ।
डा. केसीको खस्कँदो स्वास्थ्यलाई लिएर अहिले विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्