
राजु चौधरी (इमेज)
चितवन, असार २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगमा थुनछेकका लागि डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको दाबी गरेका छन् ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिकाको चक्रपथ शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले छविलाल सो घटनामा निर्दोष रहेको जिकिर गरे ।
उनले युद्धकालीन घटनाका व्यक्तिहरुलाई विभिन्न मुद्दा लगाउने षड्यन्त्र भइरहेको भन्दै अनाहकमा निर्दोष व्यक्तिहरु फस्ने खतरा उत्पन्न भएको दाबी गरे ।
आफूहरुले नै अदालतको सम्मानका लागि छविलाललाई अदालतमा जान सुझाएको उनको घुमाउरो संकेत थियो ।
अध्यक्ष दाहालले आफूहरुले लोकतान्त्रिक अभ्यासलाई स्वीकार र सम्मान गर्ने उल्लेख गर्दै नेपाली कांग्रेसलाई पनि गम्भीर बन्न आग्रह गरे ।
जुम्लामा अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षा र माग सम्बोधनका लागि पनि आफूहरु लचिलो भएको उनको भनाइ थियो ।
विभिन्न विकासका योजनाको शिलान्यास र उद्घाटनका लागि दुई दिनदेखि चितवन रहेका अध्यक्ष दाहालले यहाँ रहँदा तीन अर्ब रुपैयाँभन्दा बढीका योजनाहरुको शिलान्यास गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्