
गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, जेठ १३ । गत फागुन अन्तिम साता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्रै उक्त समूहलाई पुरै नियन्त्रणमा लिइसक्ने उद्घोष गरे ।
तर, जेठ १२ गते काठमाडौंमा भएको शृंखलाबद्ध विस्फोट र जेठ १३ गतेको बन्दकाक्रममा देशका विभिन्न ठाउँमा सो समूहले सिर्जना गरेको त्रासले सरकार नराम्रोसँग चुकेको पुष्टि गरेको छ ।
गत फागुन ११ गते सानेपाको एनसेल मुख्यालयअगाडि बम विस्फोट गराइ सर्वसाधारणको ज्यान लिएपछि सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सतर्क बनेको थियो ।
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वंशकारी घोषणा गर्दै उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । त्यसपछि विप्लव समूहका थुप्रै नेता–कार्यकर्ताहरु पनि पक्राउ परेका छन् ।
देशैभर विप्लव समूहमाथि निगरानी पनि बढाइएको सुरक्षाकर्मीहरुले बताउँदै आएका छन् । तर, जेठ १२ गते अपराह्न राजधानीमा सो समूहले शृंखलाबद्ध विस्फोट गरायो ।
सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा चारजनाको ज्यान गयो भने आधादर्जन घाइते भए ।
सोही साँझ काठमाडौंको कोटेश्वरबाट प्रेसरकुकरसहित विप्लव समूहका ७ जना कार्यकर्ता तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिराम पुन, बुद्धिबहादुर सुनार, राकेश श्रेष्ठ, चित्रकमल ओली र डम्बरबहादुर तामाङ पक्राउ परे ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनीहरुको साथबाट प्रहरीले चारओटा प्रेसरकुकर, ब्यानर, पर्चा, केही किताब र कागजात बरामद गरेको छ ।
यता, काठमाडौंलगायत विभिन्न जिल्लामा फेलापरेका शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले नस्ट गरेको छ ।
ललितपुरको हात्तीवनमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
नयाँ बसपार्कस्थित निर्माणाधीन लोत्से भवनको दोस्रो तलामा राखिएको बम पनि सेनाले डिस्पोज गरेको छ ।
उक्त भवनमा आइतबार राति करिब ८ बजे अपरिचित व्यक्तिहरुले बोराभित्र प्रेसरकुकर बम राखेर छाडेको सीसीटीभी फुटेजबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
बन्दकैक्रममा देशका विभिन्न जिल्लामा सवारी–साधनमा आगजनी गर्नुका साथै विभिन्न सरकारी र सार्वजनिकस्थलमा विस्फोट पनि गराएको छ ।
यसले देशका ७७ ओटै जिल्लामा उच्च सतर्कता अपनाउन प्रहरी प्रशासन चुकेको देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्