Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


दाहाल शीतल निवासमा


0
Shares

काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद तीव्र हुँदै जाँदा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा कुनै संवाद हुन नसकेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

बिहीबार नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण अघि बढ्न नसकेपछि अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतबीच बालुवाटारमा केहीबेर कुराकानी भएपछि दाहाल शीतल निवास जानुभएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट उहाँको राजीनामा मागेपछि नेकपाको द्वन्द्व उत्कर्षमा पुगेको हो ।

यसअघि, बिहीबारै बिहान मन्त्रिपरिषद् बैठक बस्नुअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भएको थियो ।

बिहीबार बिहान मध्यमार्गी विकल्प लिएर पार्टी अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका ओलीपक्षीय नेताहरु फर्किएपछि प्रधानमन्त्री शीतल निवास जानुभएको थियो ।