
रुकुम, असार २९ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट–खलंगामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–१ सल्लेबाट खलंगातर्फ आउँदै गरेको ना५ख ६५१० नम्बरको बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मुसिकोट नगरपालिका–१, छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षत्रीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
मृतककी सात महिनाकी छोरी, मुसिकोट नगरपालिका–१ का १६ वर्षीय चन्द्रबहादुर विक, सोही ठाउँकी तीन वर्षीया देवी केसी, ५४ वर्षीय विष्णु बुढाथोकी, ११ वर्षीया झरना थापा, १६ वर्षीया दिविका बुढाथोकी र २० वर्षीया मनीषा विसी खड्का घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल सल्लेका प्रमुख डा. सुशील पोखरेलले जानकारी दिए ।
अन्य ८ जना घाइतेको जिल्ला अस्पाताल सल्लेमा उपाचार भइरहेको उनले बताए ।
गाडी सफा गर्न ल्याउनेक्रममा सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
गाडी सडकबाट करिब १०० मिटर तल खोलामा खसेको थियो । प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्