
विराज रोस्यार /ईमेज
कैलाली । कोरोना महामारीकाबीच धान रोप्ने तयारीमा जुटेका सुदूरपश्चिमका किसान पनि रासायनिक मल नपाउँदा समस्यामा परेका छन । मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेड्रिङ लिमिटेडको गोदाम रित्तै छ ।
गोदाममा रहेको मल पहुँच हुने सहकारीले लगे पछी अधिकांश किसानले मल पाएका छैनन । सहकारीले सस्तो मूल्यमा मल किनेर बढी नाफा खाएर मल बेच्ने गरेका कारण किसानले मल पाएका छैनन् । यसबर्ष समयमै वर्षा भएका कारण जताततै रोपाइँको चटारो छ ।
खेतबारीमा बिहानै देखि बिउ उखेल्न र रोपाइँ गर्न व्यस्त देखिने किसान मल नुहँदा भने खिन्न छन् । मुख्य बाली लगाउने सिजनमै मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । सधैँ रासायनिक मल प्रयोग गरेको खेतमा यसबर्ष मल अभाव हुँदा उब्जनी घट्ने होकि भन्ने चिन्ताले किसानलाई पिरोलेको छ ।
यता प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेडले मलको कुनै पनि अभाव नभएको दाबी गदै आएको छ । सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन ,युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको जानकारी दिनु भयो ।
किसानहरूले बर्षेनी खेतीपातीको मुख्य सिजनमा यस्तै समस्या झेल्दै आएका छन कहिले पानीको अभाव त कहिले मलखादको अभाव । मुलुकमा तीन तहका सरकार भए पनि मल बिउ र सिँचाइ अभाव कम गर्ने तर्फ कसैको पनि ध्यान जान सकेको छैन । जसका कारण कृषिमा परनिर्भरता बढ्दै गइरहेको किसानहरूको दुखेसो छ ।
प्रतिक्रिया दिनुहोस्