Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


ज्योतिषशास्त्रअनुसार मोदीको दोस्रो कार्यकालमा नेपालसँगको सम्बन्ध सुध्रिन्छ


0
Shares

काठमाडौं, जेठ १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकाल सुरु गर्दैछन् ।

उनको पहिलो कार्यकाल छिमेकी मुलुक नेपालका लागि त्यति सुखद् रहेन । नेपालमा संविधान जारी भएलगत्तै भारतले गरेको अघोषित नाकाबन्दी झेलेका नेपाली जनतामा त्यसयता मोदीप्रतिको दृष्टिकोण सकारात्मक बन्न अझै सकेको छैन ।

मोदीको दोस्रो कार्यकाल नेपालका लागि कस्तो रहला त ? आम चासोको विषय बनेको छ । ज्योतिषशास्त्रले मोदीको दोस्रो कार्यकालमा दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने देखाएको छ ।

नेपाली ज्योतिषी डा. सुनील सिटौलाले मोदीको दोस्रो कार्यकाल नेपालका लागि फलदायी हुने बताए । मोदीले दोस्रो कार्यकाल आरम्भ गर्ने लग्नलाई आधार बनाएर अध्ययन गरिएको शपथकुण्डली अनुसार आगामी दिनमा नेपाल र भारतको सम्बन्धमा सुधार आउने उनले बताए ।

मोदीले आगामी बिहीबार स्थानीय समयानुसार साँझ ७ बजे दोस्रो कार्यकालका लागि शपथग्रहण गर्दैछन् । सोही समयलाई आधार मानेर गरिएको ज्योतिष गणनामा अन्य दिशाका छिमेकी मुलुकको तुलनामा भारतको उत्तर दिशाको छिमेकी मुलुकसँगको सम्बन्धमा सुधार आउने देखिएको ज्योतिषी सिटौलाको तर्क छ ।

‘ज्योतिष शास्त्रअनुसार शपथग्रहणको समयमा दिल्लीको आकाशमा बृश्चिक लग्नको कन्या नवांश उदाइरहेको हुनेछ । लग्नको स्वामि राहुसँग मृत्युस्थानमा बस्नु ज्योतिषीय दृष्टिकोणबाट उत्तम साइत नरहेको देखिन्छ,’ उनले भने, ‘विशेष गरेर पूर्व र दक्षिण दिशासँगको सम्बन्ध तिक्ततापूर्ण नै रहने ग्रह स्थिति देखिए पनि उत्तर र पश्चिम दिशाका छिमेकीसँग सुमधुर सम्बन्ध बढ्ने देखिन्छ । लौकिक ज्योतिषमा नेपालको राशी र शपथग्रहण स्वामि एकै परेको हुनाले पहिलेजस्तो तिक्ततापूर्ण सम्बन्ध नरहने र नयाँ आयामहरु बढ्ने देखिन्छ ।’

शीरमा बृहस्पति, बुद्धिमा चन्द्रमा, साझेदारीमा बुधादित्य योग जुरेको हुँदा नरेन्द्र मोदीको दोस्रो कार्यकालमा उनको व्यक्तिगत इच्छा, आकांक्षा सफल रहने ज्योतिषी सिटौला बताउँछन् । ‘छिमेकीको ग्रह उल्टो घुमेको हुनाले छिमेकीसँगको सम्बन्धमा सौहार्द्रता झल्किनेमा भने शंका नै छ,’ उनले भने, ‘शनि, केतु, मंगल, राहुको अशुभ युतीले गर्दा मोदीको यो कार्यकालमा भारतमा आतंकवादीबाट झन् बढी खतरा हुने देखिन्छ ।’

मोदीको यो कार्यकालमा गुप्त शत्रु र जनआक्रोस बढ्न सक्ने उनले बताए ।