गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)
काठमाडौं, असार २९ । ४०० वर्गकिलोमिटरमा फैलिएको काठमाडौं उपत्यकामा करिब ३५ लाख नागरिक उकुसमुकुस गरी कोचिएका छन् । दुईओटा महानगरपालिका यही काठमाडौं उपत्यकाभित्र पर्दछन् ।
विश्वमा महानगरपालिकालाई सेवा, सुविधा र सम्पन्नताको प्रतीककारुपमा मानिन्छ । तर, काठमाडौंको अवस्था भने पूरै फरक छ ।
दुईओटा महानगरपालिकासमेत रहेको काठमाडौं अवसरको सीमितताका कारण अहिले बोझमाथि बोझ बनेर घिस्रिरहेको छ ।
महानगरपालिकालाई सुविधासम्पन्न बनाउने घोषणा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पटक–पटक गरिरहेका छन् । तर, यहाँको अवस्थामा सुधार आउन सकेको छैन ।
बिग्रँदो वातावरणले काठमाडौंवासीको आयु घटाउन उद्दत छ । शुद्ध खानेपानी र स्वच्छ हावाको कमी हुँदै गएको छ । धुलो र धुवाँले २४ सै घन्टा अतिक्रमण गरिरहेको छ ।
विकासका नाममा बनेका र बन्दै गरेका संरचनाले पनि यसलाई कुरुप बनाउँदै लगेको छ । विपन्न र धनाढ्यबीचको खाडल बढ्दै गएको छ ।
व्यवस्थित सहरीकरणको विकास हुन नसक्दा राजधानी काठमाडौं दिनदिनै थोत्रिँदै र मैलिँदै गएको पूर्वाधारविद् डा. सूर्यराज आचार्यको भनाइ छ ।
बाहिरबाट हेर्दा सुविधासम्पन्नजस्तो देखिने महानगरपालिकामा व्यवस्थितरुपमा यातायातसमेत सन्चालनमा ल्याउन सकिएको छैन ।
सवारीको बढ्दो चापले केही किलोमिटर यात्रा गर्नसमेत घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । सहरका अधिकांश भित्री बाटो जोखिमपूर्ण छन् ।
खाल्डाखुल्डी सडक र असरल्ल देखिने बिजुलीका तारले सहरको सौन्दर्य त हराएको छ नै जोखिम पनि बढाएको छ ।
काठमाडौंका अधिकांश नदी र खोलामा पानीको सट्टा ढल बग्छ ।
भूकम्पले तहसनहस बनाएका संरचना मुहार फेरिने आशामा वर्षौंदेखि प्रतिक्षारत् छन् ।
यति हुँदाहुँदै पनि विकल्प नहुँदा देशभरका मानिसलाई काठमाडौंले आकर्षित गर्न छाडेको छैन । काठमाडौं अघोषितरुपमै ‘डम्पिङ साइट’मा परिणत हुँदैछ ।
काठमाडौंलाई जीवन्त र सुन्दर महानगर बनाउनु सरकारकोमात्र दायित्व होइन, नागरिकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।
आफू बस्ने ठाउँको संरक्षण र सम्बद्र्धनमा अब सरकारकोमात्र मुख नताकी नागरिक आफैं अग्रसर नभए केही वर्षभित्रै काठमाडौं बस्नयोग्य सहर नहुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्