नख्खु खोलामा लिच्छवीकालीन मत्स्यपालन कति सम्भव ? (भिडियो) • Image Khabar Image Khabar


नख्खु खोलामा लिच्छवीकालीन मत्स्यपालन कति सम्भव ? (भिडियो)


Imagekhabar
१५ असार २०७७, सोमबार १९:०२

नख्खु खोलामा लिच्छवीकालीन मत्स्यपालन कति सम्भव ? (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (ईमेज)
काठमाडौं, असार १५ । काठमाडौं उपत्यका कृषिका लागि उर्वर भूमि मानिन्छ । परापूर्वकालदेखि काठमाडौं उपत्यकामा भइरहेको खेतीले अझै निरन्तरता पाएको छ । लिच्छवी कालमा माछा पालन ललितपुरको दक्षिण भेगमा हुने गरेको इतिहासविद्हरु बताउँछन् ।

यो मनोरम दृष्य टौदहको हो । यसरी नै विगतमा उपत्यकाका विभिन्न नदी, खोला र पोखरीमा विभिन्न जातका माछाहरु प्रशस्त पाइन्थे ।

यो काठमाडौं उपत्यकाको मत्स्य पालन नै आर्थिक उन्नतिको एउटा बलियो आधार थियो ।

तर अव्यवस्थित शहरीकरण, नदी, नाला र प्राकृतिक पानीको स्रोत दोहनका कारण उपत्यकाका नदीनालाबाट माछा लोप हुँदै गएका छन् ।

ललितपुरको नख्खु खोला पनि लिच्छवी कालिन समय देखिको मत्स्य पालन क्षेत्र थियो । ङयाखु अर्थात माछा धेरै भएको नदी, जुन पछि अपभ्रंश भएर नख्खु खोला भएको बताइन्छ ।

लिच्छवी कालमा नख्खु खोला, बुङमति र चापागाँउ लगायतका भेग मत्स्य पालनका लागि प्रख्यात थियो ।

त्यस बेला काष्ठिका, भुक्कुण्डिका, मुक्ता साना माछा र राजग्रीव ठूला माछाहरु पाइने गरेको शिवदेवको अभिलेखमा समेत उल्लेख छ ।

त्यस बेला माछाको जात अनुसार स्थरुप्रङ्ग भन्ने वस्ती हाल चापागाँउमा कर प्रथाको व्यवस्था समेत गरेको थियो ।

अरु बस्तीबाट माछा बेच्न आउनेहरुलाई भन्सार दर घटाई दिएको थियो ।

त्यस बेला कर प्रणाली कति व्यवस्थित र माछा पालनमा राज्यको प्राथमिकता थियो भन्ने सहजै थाहा पाउन सकिने इतिहासविद् प्राध्यापक डा. त्रिरत्न मानन्धर बताउनु हुन्छ ।

माछाको आँखा जस्तै भएको करुणामय, रातो मच्छिन्द्रनाथका रुपमा प्रख्यात रहेको छ । नरेन्द्र देवको पालामा उपत्यकामा रातो मच्छिन्द्रनाथ प्रवेश भएसँगै कृषि क्षेत्रमा तीव्र विकास भएको थियो ।

त्यसैले प्रत्येक १२ वर्षमा रातो मच्छिन्द्रनाथको रथ यात्रा नख्खु खोलाबाटै तानेर लैजानु पर्ने परम्पराले निरन्तरता पाउँदै आएको छ ।

लेले र नल्लु खोला मिसिएर ललितपुरको लेलेदेखि चोभारको सुन्दरीघाटसम्म बग्ने नख्खु खोला हाल तीव्र अतिक्रमणमा परेको छ ।

खोला ढलमतिमा परिणत हुँदै छ । अतिक्रमणसँगै राजकुलो र अन्य कुलोहरु मिचिएको छ । नख्खु खोलाको पानीमा बालबालिका पौडी खेल्ने अवस्था छैन भने गाईवस्तुलाई खुवाउन नहुने अवस्था छ ।

कृषि, पाशुपाल्य, वाणिज्य र आर्थिक उन्नतिको प्रमुख माछा पालन र व्यवसायमा अशुंवर्माले समेत प्रोत्साहन गरेको अभिलेखमा उल्लेख गरिएको छ ।

तसर्थ पुर्खाको ज्ञान, सिप र प्रविधिलाई समय अनुकुल प्रयोग गर्न सके कृषि प्रधान देशको नारा सार्थक हुने देखिन्छ ।

(भिडियो हेर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्