
काठमाडौं, असार १५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूलाई भारतले हटाउन खोजेको भनि प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिबारे प्रष्ट पार्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ ।
आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्शा छापेपछि भारतले आफूलाई हटाउन खोजेको जिकीर गर्दै आफू हटे कुनैपनि प्रधानमन्त्रीले नेपालको हित रक्षा गर्न नसक्ने बताउनुभएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भनेर प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्ट्याउन जरूरी भएको भन्दै ट्वीटरमा लेख्नुभएको छ,
‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ । १. प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? २. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’
कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको भन्दै शर्माले ‘सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिनुस् । बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनुस् । हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय भएन । थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन ।’
प्रधानमन्त्रीले लिम्पियाधुरा समावेश गरेर नक्शा जारी तथा उक्त नक्शा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतले आफूलाई हटाउने लागेको आरोप लगाउनुभएको थियो ।
प्रधानमन्त्रीको उक्त भनाइप्रति कटाक्ष गर्दै प्रवक्ता शर्माले लेख्नुभएको छ, ‘पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी ! सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्शाको जग्गा फिर्ता गराउने कूटनीतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कूटनैतिक !’
प्रतिक्रिया दिनुहोस्