Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


निजी क्षेत्रमा अख्तियार हुल्दैनौंः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमनको नाममा निजी क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगाई नहुल्ने बचन उद्योगी व्यवसायीलाई दिनुभएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारण सभालाई सोमबार भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको भन्दै त्यस्तो कानून नबनाउने बचन दिनुभएको हो ।

अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे जानकार रहेको भन्दै उहाँले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्नेगरी ल्याइएको विधेयक सरकारले अगाडि नबढाउने बचन दिनुभयो ।

निजी क्षेत्रमा अख्तियार हुल्ने गरी ल्याएको विधेयकको सम्पूर्ण निजी क्षेत्र एवं विपक्षी राजनीतिक दलहरुले समेत विरोध गरिरहेको बेला प्रधानमन्त्री ओलीले यो बचन दिनुभएको हो ।

उद्योगीहरूले आफूलाई भेटेरै विधेयक फिर्ता लिन माग गरेको सन्दर्भ कोट्टयाउँदै उहाँले भन्नुभयो, ‘यसअघि भेटमा पनि भनेको थिएँ, अहिले पनि यसलाई स्पष्ट पार्न चाहन्छु, यो विधेयक अहिले अगाडि बढाउनु पर्ने आवश्यकता छैन ।’

निजी क्षेत्रको नियमन गर्न सरकारका अरु थुप्रै निकाय हुँदाहुँदै त्रसित बनाउन अख्तियार हुल्न खोजेको भन्दै सरकारले ल्याएको विधेयकको विरोध भइरहेको छ । प्रधानमन्त्रीले उद्योगीलाई विधेयक अगाडि नबढाउन बचन दिएकै दिन राष्ट्रिय सभामा भने उक्त विधेयक लगिएको थियो । तर पछि कार्यसूचीबाट हटाइयो ।

सर्वत्र आलोचना भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि उक्त विधेयक रोक्ने भनेको थियो । तर सोमबार राष्ट्रिय सभाको कार्यसूचीमा भने उक्त विधेयक चढेको थियो ।