२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चीनसँग सीमा विवाद छैन, तथ्यमा रहेर समाचार प्रकाशित गर्नूः परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, असार १५ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी राष्ट्र चीनसँग सीमामा कुनै विवाद नरहेको प्रष्ट्याउनु भएको छ ।

दक्षिणी सीमामा भारतसँग किचलो परिरहेका बेला सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमानामा कुनै विवाद नरहेको प्रष्टीकरण दिनुभएको हो ।

चीनले नेपालको विभिन्न स्थानमा सीमा मिचेको भन्दै प्रतिनिधिसभामा सांसदहरुले उजुरी गरेका बेला राष्ट्रिय सभामा मन्त्री ज्ञवालीले चीनसँगको सीमानामा ९८ सीमास्तम्भ रहेको तथा भौगोलिक विकटता र दुई देशबीच कुनै विवाद नरहेकाले सीमा संकेत चिह्न ३७ र ३८ खडा नगरिएको बताउनुभएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथा उचाईबारे स्नोलाइनलाई आधार मान्ने कि रकलाईनलाई आधार मान्ने भन्ने विषयमा सहमति भइनसकेकाले छलफल भईरहेको जानकारी दिनुभयो ।

पश्चिमतिरको भू–भागमा त्रिदेशीय विन्दु तयार भइनसकेको पनि उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँगको सीमा विवाद सुल्झिएपछि तीन वटै देशको सहमतिमा त्रिदेशीय सीमा बिन्दु तयार गरिने पनि जानकारी दिनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग २०१२ देखि रोकिएको प्रोटोकल वार्ता छिट्टै हुने जानकारी दिनुभयो ।

छिमेकी राष्ट्र भारतसँग सम्पर्कमै रहेको जानकारी दिँदै कूटनीतिक माध्यमैबाट सीमा समस्या समाधान हुनेमा सरकार विश्वस्त रहेको बताउनुभयो । उहाँले एक दुई विवादले दुई देशबीचको बहुआयामिक सम्बन्ध प्रभावित हुन नहुनेमा सरकार सजग रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद र राष्ट्रिय सुरक्षाका विषयमा तथ्यमा आधारित भएर मात्र समाचार प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।

उहाँले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्ने गरी समाचार प्रकाशन नगर्न र यस्ता समाचारबाट भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।