
काठमाडौं । नेपाली कलाकारहरुले पारिश्रमिक नपाएको गुनासो पोख्न थालेका छन् ।
चलचित्र क्षेत्रका निर्माता मात्र होइन संगीत क्षेत्रका आयोजकले कलाकारलाई पारिश्रमिक नदिएर झुलाउने गरेको गोनासोहरु आउन थालेका छन् ।
गायक सुगम पोखरेलले आइतवार आफ्नो आधिकारिक फेसबुकमा लेखेको कुराले देश तथा विदेशमा कार्यक्रम गरेको पारिश्रमिक महिनौंसम्म नपाउँदा गायक गायिकाहरु कसरी पीडित भएका छन् भन्ने थाहा भएको छ ।
सुगमले ७ देखि १ वर्ष अगाडि गरेको कार्यक्रमको पारिश्रमिक २४ घण्टाभित्र उपलब्ध नगराए तस्विरसहित नाम सार्वजनिक गर्ने चेतावनी दिएसँगै संगीत क्षेत्रमा पनि समस्या देखिएको हो ।
उनले लेखेका छन्, ‘अति भयो त्यसैले लेख्न बाध्य भएँ । गएको वर्ष देश अनि बिदेशमा गरेका केही कार्यक्रमको पाउन बाँकी पारिश्रमिक, आयोजक साथीभाइहरुले झुलाइरहेको महशुस भयो । त्यसैले २४ घण्टाभित्र यसको उचित समाधान नभएमा तपाईंको सुन्दर तस्विरसहित नाम सार्वजनिक गर्नेछु ।’ उनले आफ्नो सहनशिलतालाई कमजोरी नठान्न पनि कार्यक्रम आयोजकहरुलाई आग्रह गरेका छन् ।
गायक पोखरेलले २४ घण्टाभित्र कार्यक्रम गरेको पारिश्रमिक उपलब्ध नगराए सम्झौता पत्र र प्रमाणअनुसार कानुनी बाटो रोज्ने बताएका छन् । उनको यो पोस्टमा लोकप्रिय गायक प्रमोद खरेलले ‘सेम हेयर’ भनेर लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्