
इमेजखबर संवाददाता काठमाडौं, असार १५ । आज राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दही च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ ।
‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै हो ।
नेपाली अर्थतन्त्र कृषि प्रधान भए पनि केही वर्ष अगाडिसम्म धान निर्यात गर्ने देश अहिले अर्बौअर्बको धान अयात गरेर आफ्ना जनता पालिरहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको छ ।
कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो थातथलो छाडी शहर र विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर भएको निकै वर्ष हुन थाल्यो । यस वर्ष कृषकलाई कोरोनाको कहर त थियो नै सलहको अर्को प्राकृतिक आपत् पनि थपिएको छ । जसले किसान चिन्तित भएका छन् ।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धानको खेती हुँदै आएको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ ।
नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।
नेपालमा धानको उत्पादन प्रतिहेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ । नेपालमा धानका रैथाने जातका ८६ मध्ये ७ वटा मात्र रैथाने जातका धानको खेती हुन्छ । नेपालमा करिब १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।
आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् । रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ । असारे भाखा हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो । रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन् ।
यसवर्ष असार लागेसँगै मनसुन शुरु भएकाले कृषकलाई असार १५ चटारोका रुपमा देखिएको छ । नेपालमा सामान्यतया जेठ अन्तिम सातादेखि मनसुन सुरू हुने गर्दछ । अधिकांश किसान अकाशे पानीमा भर पर्नुपर्ने बाध्यताका कारण पनि जहिले पानी पर्छ त्यही बेला मौका छोप्नुपर्ने अवस्था छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा उपलब्ध छ ।
नेपाल संसारकै सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश हो । समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचनादेखि २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ । यसरी जुम्लाको धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा गरिने धानखेती भनिन्छ ।
जुम्लाको मार्सी धान नेपालभरी नै कहलिएको धान हो । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने नेपालमा सामान्यतया २५ डिग्री तापक्रमदेखि ३२ डिग्री सेन्टिग्रेड तापक्रम भएका स्थानमा धान खेती गरिन्छ ।
धान विश्वको प्रमुख बाली हो । यसको वैज्ञानिक नाम ओरिजा सेटिभा हो । खोज अनुसन्धान अनुसार धान सबैभन्दा पुरानो बालीमध्ये एक हो । यसको खेती हजारौं वर्ष पहिले नै गरिएको थियो ।
संसारको करिब ३ अर्ब ५० करोड मानिस अर्थात ६० प्रतिशत मानिसको मुख्य खाना चामलजन्य खाद्यान्नलाई नै मानिन्छ । एशियाली देशमा त ९० प्रतिशत बढी मानिस चामलजन्य खाद्यवस्तु खान्छन् ।
प्रतिक्रिया दिनुहोस्