विश्वविद्यालय तहका स्थगित परीक्षाहरु कसरी अघि बढ्छ ? • Image Khabar Image Khabar


विश्वविद्यालय तहका स्थगित परीक्षाहरु कसरी अघि बढ्छ ?


Imagekhabar
१४ असार २०७७, आईतवार २०:०६

विश्वविद्यालय तहका स्थगित परीक्षाहरु कसरी अघि बढ्छ ?

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, असार १४ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक तहको एसईई परीक्षा रद्द गरिएपछि विद्यालयका प्रधानाध्यापक रहेको समितिले गर्ने आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा निकाल्ने तयारी भइरहेको छ ।

यहीबेला विश्वविद्यालय अनुदान आयोगले कोरोनाको सुरक्षा ‘प्रोटोकल’ कायम गरी विश्वविद्यालय तहका स्थगित परीक्षाहरु लिन सिफारिस गरेको छ ।

पहिलो प्राथमिकता प्रारम्भिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीहरुलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठन–पाठन गराइ दुईओटा सेमेष्टरको परीक्षा एकैपटक लिने विधि अपनाउन आयोगले सुझाएको छ ।

आयोगले परम्परागत परीक्षा प्रणाली सम्भव नभए प्रयोगात्मक परीक्षाका आधारमा कुनै एक वा अन्य विकल्पहरु अपनाउन सकिने सुझाव पनि दिएको छ ।

आयोगले भनेबमोजिम वैकल्पिक परीक्षा प्रणाली विश्वविद्यालयहरुमा लागू गर्न सरकार तयार छ त ? भन्ने जिज्ञासामा शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा र निमित्त प्रवक्ता कृष्णप्रसाद काप्री यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै आधिकारिक धारणा राख्नसक्ने भन्दै पन्छिए ।

आयोगले दिएको सुझावबारे सरकार अझै निर्णयमा पुगिनसकेको बेला देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले भने आयोगको सुझावका आधारमा नभइ त्रिविले नै परीक्षा सञ्चालन कार्यविधि बनाउन समिति गठन गरेको छ ।

एसईईबारे धेरै बहस भएपछि सरकार एउटा टुंगोमा पुगेको थियो । तर, विश्वविद्यायस्तरको परीक्षाबारे सरकारले बेलैमा निर्णय नगर्दा विश्वविद्यालय तहमा अध्ययनरत् चार लाख विद्यार्थी अन्योलमा रहेका छन् ।

उनीहरुबारे न राजनीतिक तहमा छलफल भएका छन् न त विद्यार्थी संगठनले नै मुख खोलेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्