३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


बैंककमा पक्राउ परेका गुरुङ काठमाडौंमा सार्वजनिक, पाँच करोड बढी ठगेको आरोप


0
Shares

काठमाडौं, जेठ ११ । प्रहरीले परशुराम गुरुङलाई सार्वजनिक गरेको छ ।

विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए ।

गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए ।

प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । नेपाल प्रहरीको पहलमा इन्टरपोलले २०७२ साल असार २९ गते गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्ड प्रहरीले गुरुङलाई गएको चैतमा पक्रेको थियो ।

उनीमाथि सामाजिक सन्जालमार्फत् विभिन्न व्यक्तिसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाइको प्रलोभन देखाएर ठगी गर्दै आएको आरोप छ ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसार–पसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गुरुङविरुद्ध ५२ ओटा मानव ओसार–पसारसम्बन्धी उजुरी परेको जनाएको छ ।

ती उजुरीमा पाँच करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै पीडितले विगो बराबरको रकम माग गरेका छन् ।